विराटनगर । यस बर्षको एकलाख धनराशीको सातौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ।
प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई ६५ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।
२०७६ सालमा तत्कालिन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहँदा प्रहरी जवान खत्रीले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ बनेको भन्दै पुरस्कृत गरिएको हो ।
जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएको भन्दै पुरस्कृत गरिएको उल्लेख गरिएको छ ।
वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी सम्झौता भएको छ । पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गर्नु भएको हो ।