नोबेलमा बिरामीको मृत्युपछि तनाव, प्रहरीद्वारा लाट्ठी चार्ज छ जना नियन्त्रणमा

नोबेलमा बिरामीको मृत्युपछि तनाव, प्रहरीद्वारा लाट्ठी चार्ज छ जना नियन्त्रणमा

विराटनगर । बिरामीको मृत्यु भएको विषयलाई लिएर नाराबाजी र प्रदर्शन भएपछि गएरातिदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको अवस्था तनावपूर्ण बनेको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको हिजो साँझ ७ः३० बजेतिर मृत्यु भएको थियो ।

पेट दुखेको र श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि ६ः३० बजेतिर अस्पताल लगेका थिए । बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएकोभन्दै आफन्त र स्थानीय बासिन्दा नाराबाजी, प्रदर्शन र तोडफोडमा उत्रिएका हुन् ।
सामान्य अवस्थाकी महिलालाई उपचारका लागि पु¥याएपछि उपचार सुरु गरेको केही बेरमै अवस्था गम्भीर बन्दै गएपनि आईसीयू र भेन्टिलेटरमा राखेर थप उपचार गर्ने व्यवस्था नमिलाइएको भन्दै आफन्त र स्थानीय आक्रोसित बनेका हुन् । आक्रोसित भीडले चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि हातपात र दुरव्यवहार गरेको अस्पतालले जनाएको छ । ढुंगामुढा गर्दै उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठी चार्ज गरेको हो । प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर बनाएपछि राति १२ बजेबाट अवस्था साम्य बनेको थियो । प्रहरीले तोडफोड र चिकित्सकमाथि दुरव्यवहारको घटनामा संलग्न रहेकोभन्दै छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ । तोडफोडबाट अस्पतालका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

भीडबाट ढुंगामुडा हुँँदा विद्यार्थी र चिकित्सक बोक्नका लागि प्रयोग गरिँदै आएको आएको को १ क २४१६ र को १ क १०९३ नम्बरको बसको अगाडिको सिसा फुटेको जानकारी अस्पतालले दिएको छ । मृतकमा मृगौला र मधुमेहको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा मृत्यु भईसकेका बिरामीको शव बुझ्न आफन्तले मानेका छैनन् । प्रहरीले नियन्त्रणमा लिइएका ६ जनालाई नछोड्दासम्म बिरामीको शव नबुझ्ने भन्दै आफन्तले शनिबार मध्यान्हसम्म पनि लास उठाउन अस्वीकार गर्दै आएका हुन् । अस्पताल प्रबन्धक नारायण दाहालले गम्भीर अवस्थामा ल्याएका कारण तत्काल आकस्मिक कक्षमा राखेर उपचार थाल्दै धेरै प्रयास गरे पनि बचाउन नसकिएको दावी गर्नुभयो ।

स्वास्थ्य अवस्था नाजुक बन्दै गएपनि उपचारमा वास्ता नगरिँदा बिरामीले मृत्युवरण नै गर्नु पर्ने परेको मृतकका छिमेकी विमेश पौडेलको भनाइ छ । बिरामीको उपचार सिकारु चिकित्सकका भरमा गरिँदा ज्यान बच्न नसकेको उहाँको भनाइ छ । उपचार थालिएपछि श्वास फेर्न झन् गाह्रो हुँदै गएपनि बिरामीको अवस्था सामान्य रहेको भनेर चिकित्सकले उपचारमा हेलचेक्राई गरेको उहाँको भनाइ छ ।

तीन घण्टाभन्दा बढी प्रदर्शनमा उत्रिएका परिवारका सदस्य र आफन्त शव अस्पतालमै छाडेर हिँडेका छन् । बिरामीको मृत्युको कारण स्पष्ट पार्नुपर्ने माग गर्दै उनीहरुले लापरबाही गर्ने चिकिसत्कमाथि कारबाही हुनुपर्ने अडान राखेर शव अस्पतालमै छाडेका हुन् ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तोडफोड र चिकित्सकमाथि दुरव्यवहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नु परेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्