लकडाउनमा पनि खुले नयाँ उद्योग, लगानी बढाउँदै राहत माग्दै उद्योगी

लकडाउनमा पनि खुले नयाँ उद्योग, लगानी बढाउँदै राहत माग्दै उद्योगी

विराटनगर । कोरोना भाईरस महामारीका कारण उद्योग कखकारखाना संकटमा परेको गुनासो बढेपनि सुनसरी–मोरङ औद्योगिक करिडोरमा दुई दर्जन नयाँ उद्योगहरु यहि बीचमा खुलेका छन् । कोरोना सन्त्रास सुरु हुनुपूर्व लगानी गरिएका मात्रै नभई कोरोना संक्रमणको असर देखिएपछि आवश्यक पर्ने सामाग्री उत्पादन गर्ने विकल्पका उद्योगमा लगानी गर्ने उद्योगीको संख्या समेत उतिकै बढेको हो ।

उद्योग कलकारखाना संकटमा परेको भन्दै उद्योगीले सरकारसँग राहतको माग पनि गर्ने र विकल्पमा नयाँ–नयाँ किसिमका उद्योगमा लगानी बढाउने क्रम जारि राखेका हुन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा यस अबधिमा तीन अर्ब लगानीका दुई दर्जन नयाँ उद्योग सञ्चालनमा आएका हुन् । नयाँ उद्योगमा प्रत्यक्ष रूपमा एक हजार पाँच सय कामदारले रोजगारी समेत पाएका छन् ।

करिडोरमा एक दर्जन संख्याका सेनिटाइजर र मास्क उद्योग मात्रै खुलेका छन् । साबुन र सर्फ मात्रै उत्पादन गर्दै आएको हिमगिरि हाइजिन प्रा.लि.ले यहि बीचमा आउरा ब्राण्डको सेनिटाइजर उत्पादन गर्ने नयाँ उद्योग स्थापना गरेको छ । मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु र अध्यक्ष प्रकाश मुन्दडाको संयुक्त लगानीमा स्यानिटाइजर उद्योग खुलेको हो ।
यसैगरी उद्योगी महेश सोनीले आफ्नो पपुलर उद्योगमै स्यानिटाइजर उत्पादन गर्ने युनिट औषधि व्यवस्था विभागमा दर्ता गराउनु भएको छ । साबुन र सर्फ मात्रै उत्पादन गर्दै आएको पपुलरले उद्योगबाट स्यानिटाइजर उत्पादन गरेर बजारमा पठाई सकिएको छ ।

इटहरी उपमहानगरपालिकाको खनारमा पुराना काम नलाग्ने कागज प्रशोधन गरेर नयाँ कागज बनाउने उद्योग समेत यस अवधीमा सञ्चालनमा आएको छ । दैनिक सवा सय मेट्रिक टन पुरानो कागज प्रशोधन गरेर सो उद्योगले एक सय टन नयाँ कागज उत्पादन गर्दै आएको छ । अरिहन्त कोरुगेशनले झुत्रा कागज प्रशोधन गर्न थालेको हो ।
उद्योगका सञ्चालक पारस लुनियाका अनुसार गतवर्षदेखि नै लगानी गरिएको उद्योग लकडाउनकै बीचमा सञ्चालनमा ल्याइएको हो । उद्योगी लुनियाकै लगानीमा सिपिभिसी, युपिभिसी, पिभिसी, एच डि पी. ई पाइप, पङ्खा उत्पादन गर्ने उद्योग पनि यो करिडोरमा लकडाउकै अवधीमा खुलेको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा साना ठुला गरी पाँच सय बढी उद्योग छन् । सबै उद्योग सञ्चालन भएपनि पूर्ण क्षमतामा भने चलेका छैनन् । ती उद्योगले क्षमताको ५० देखि ६० प्रतिशत उत्पादन गरिरहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो ।
नयाँ उद्योग खुलेका हैनन्, अध्यक्ष मुन्दडाले भन्नुभयो–लगानी गरेर स्थापना भईसकेको उद्योगलाई सञ्चालनमा ल्याइएको हो । उहाँका अनुसार अहिले केहि वैकल्पिक किसिमका सामाग्री उत्पादन गर्ने उद्योग स्थापना भएपनि ठूलो लगानी हुनसक्ने संभावना भने अति न्यून रहेको छ ।

सीमा नाका बन्द भएका कारण पास्ता र बिस्कुल उत्पादन गर्ने लगायतका बन्द भएका उद्योग समेत सञ्चालनमा आएको उद्योगीहरु बताउँछन् । सीमानाकाबाट सामान आउन छोडेपछि पास्ता तथा बिस्कुटको माग उच्च रहेका कारण त्यस्ता उद्योगहरु ब्यूँतिएको दावी समेत गरिएको छ ।
करिडोरका पुराना उद्योगमा दक्ष र अदक्ष गरी ६० हजारभन्दा बढी मजदुर कार्यरत छन् । केही उद्योगीले भने महामारीलाई लक्षित गरी नयाँ उद्योग सञ्चालनमा ल्याएका हुन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा मास्क र स्यानिटाइजर उत्पादन गर्ने उद्योग मात्रै डेढ दर्जनभन्दा बढी खुलेका छन् । यो संकटकै समयमा तीन अर्ब रुपिँया भन्दा बढी लगानी गरेर दुई दर्जन नयाँ उद्योग सञ्चालनमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्