मध्यरातमा विराटनगरबाट तीनजना सट्टेबाज प्रहरी नियन्त्रणमा

मध्यरातमा विराटनगरबाट तीनजना सट्टेबाज प्रहरी नियन्त्रणमा

विराटनगर । यूएईमा जारी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले मध्यरातमा विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्ने सट्टेबाजमा विराटनगर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा तीनै जनालाई पुरुषोत्तमको घरबाट आइतबार राति ११ बजेतिर पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट तीनवटा मोबाइल र सट्टेबाजी खेल्दा हिसाब उल्लेख गर्न प्रयोग गरिएका तीनवटा डायरी बरामद भएको छ ।

भित्रभित्रै गोप्य तरिकाले पैसाको बाजी लगाएर अनलाइनमार्फत हुने गरेको अवैध जुवाजन्य खेल नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ । सट्टेबाजी बाजी लगाउँदा हारेको रकम उठाउनलाई व्यक्तिको अपहरण, शरीर बन्धक एवं कुटपिट गरिएको विषयमा गत असोज २५ गते नियन्त्रणमा लिइएका विराटनगर–११ का २५ वर्षीय रोनल कँडेलमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कांग्रेसको भातृ संगठन तरुण दलमा आवद्ध कँडेलमाथि सट्टेबाजीमा हारेको पैसा असुल्न सञ्जय सिंघललाई नियन्त्रणमा लिएर अपहरण गर्दै रातभर होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोप छ । प्रहरीका अनुसार सिंघलले फेसबुकबाट घटना सार्वजनिक गरेपछि कँडेल अवैध रुपमा सट्टेबाजी खेल्ने र खेलाउनेहरुको लिस्ट बोकेर सूचनाकर्ता बन्दै प्रहरी कार्यालयमा पुगेका थिए ।

सट्टेबाजीलाई कानुनले पूर्ण रुपमा निषेध गरेको छ । प्रहरीका अनुसार कुनै पनि खेलकुद प्रतियोगिता एवं विभिन्न गतिविधी र समसामयिक परिवेषको पक्ष एवं विपक्षमा आनलाइनमार्फत ठूलो रकम बाजी लगाएर अवैध रुपमा हुने प्रतिबन्धित खेल हो सट्टेबाजी ।
प्रहरीले तीन साताअघि पनि सट्टेबाजी खेल्ने, खेलाउने तीन जनालाई विराटनगरबाट पक्राउ गरेर जुवा वा सट्टेबाजी ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको छ । पछिल्लो समय पक्राउ परेका तीन जनाविरुद्ध पनि कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

सट्टेबाजीमा ठूलो रकमको हारजीत हुने गरेको पाइएपछि प्रहरीले नियन्त्रणका लागि विराटनगरमा विशेष अप्रेशन चलाएको छ । पक्राउ परेका सट्टेबाजहरुबाट उनीहरुको कनेक्सन खोतल्दै घटनाको अनुसन्धानबाट जरोसम्म पुगेर सट्टेबाजीको सञ्जाल भत्काउने योजना प्रहरीको रहेको एसपी खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्