कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चारजनाको विराटनगरका अस्पतालमा मृत्यु

कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चारजनाको विराटनगरका अस्पतालमा मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित विराटनगरमा सोमबार थप चार जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेजमा २ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा १ जना र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा १ जनाको मृत्यु भएको हो । त्यस बाहेक सुनसरीमा समेत तीनजनाको मृत्यु भएको छ ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा।लि।का सञ्चालक हुन् । उनलाई असोज २२ गते कोरोना देखिएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ंंग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत बिराटनगर–२ की ६० वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्