विराटनगर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गरेन

विराटनगर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गरेन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आवको प्रथम त्रैमासिक अवधिमा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ।
भन्सारले लक्ष्यको तुलनामा ७९ दशमलव २४ प्रतिशतमात्र प्रगति गर्न सकेको हो।

कोरोनाको विश्वव्यापी कहरका कारण उपभोगमा कमी आएसँगै राजस्व दिने मुख्य वस्तुको आयातमा पनि ह्रास आएपछि कार्यालयको लक्ष्य पुग्न नसकेको हो। कार्यालयले लक्ष्य हासिल गर्न नसकेको भए पनि प्रतिशतका दृष्टिले अघिल्लो वर्षभन्दा धेरै प्रगति गरेको देखिएको छ।

कोरोना कहरका कारण भन्सार विभागले कार्यालयको त्रैमासिक लक्ष्य संशोधन गर्दै कुल लक्ष्य नै घटाइदिएपछि प्रगति प्रतिशत धेरै देखिएको हो।

गत आर्थिक वर्षको त्रैमासिक अवधिमा कार्यालयको लक्ष्य १३ अर्ब ९४ करोड ३१ लाख रहेकोमा चालु आवको सोही अवधिमा १० अर्ब १ करोड १८ लाख मात्र राखिएको थियो।

कार्यालयले गत आवको असोज मसान्तसम्ममा लक्ष्यका तुलनामा ६०।८० प्रतिशत प्रगति हासिल गरेकोमा चालु आवको सोही अवधिमा ७९ दशमलव २४ प्रतिशत प्रगति गरेको छ। अघिल्लो आवका तुलनामा चालु आवमा प्रतिशतमा प्रगति धेरै देखिए पनि संकलित वास्तविक रकम भने गत आवका तुलनामा कम छ।

कार्यालयले चालु आवको ३ महिनामा ७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ असुल गरेको छ। अघिल्लो आवको सोही अवधिमा कार्यालयले ८ अर्ब ४७ करोड ७३ लाख संकलन गरेको थियो। कार्यालयले उक्त अवधिमा भन्सार महसुलबाट ३ अर्ब ७१ करोड ५४ लाखको लक्ष्यमा ३ अर्ब १७ करोड २ लाख, भ्याटबाट ५ अर्ब ३७ करोड ६२ लाखको लक्ष्यमा ३ अर्ब ८२ करोड ७८ लाख र अन्तःशुल्कको ६१ करोड १० लाखको लक्ष्यमा ४६ करोड ३८ लाख असुल गरेको छ।

तीन महिनामा कार्यालयले सबैभन्दा बढी राजस्व पेट्रोलबाट ८८ करोड ४० लाख प्राप्त गरेको छ। दोस्रो राजस्व दिने मोटरसाइकलबाट ५७ करोड ३५ लाख असुली भएको छ। त्यस्तै तेस्रोमा पोलिथिन दानाबाट ३६ करोड ७७ लाख संकलन गरिएको छ। यसबाहेक राजस्व दिने अन्य मुख्य वस्तुमा तयारी कपडा, फलामको कच्चा पदार्थ, सूर्यमुखी र भटमासको कच्चा तेल, प्लास्टिकका सिट–क्वाइल–फिल्म–पत्ता आदि र कर्कट पाताको कच्चा पदार्थ सिआर सिट छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्