विराटनगर जुट मिल्सको दक्षिण गेटबाट हुने तस्करी रोक्न झ्याल टाल्दै प्रहरी

विराटनगर जुट मिल्सको दक्षिण गेटबाट हुने तस्करी रोक्न झ्याल टाल्दै प्रहरी

विराटनगर । विराटनगर जुट मिल्सको दक्षिण गेटबाट तस्करीको बाटो खुलेपछि प्रहरीले जुट मिलको क्वाटर भवनका झ्यालहरु नै टालिदिएको छ । नेपाल–भारत सीमाना विराटनगर–१६ मा जुट मिलका मजदुर तथा कर्मचारीको जीर्ण बनिसकेको आवास (क्वाटर) भवनका झ्यालहरु प्रयोग गरेर तस्करी हुने गरेपछि प्रहरीले बन्द गरिदिएको हो ।


जुटमिलमा काम गर्ने मजदुर तथा कर्मचारीले प्रयोग गर्दै आएको भवन प्रयोग गरेर तस्करले सामान तथा खसी बोका समेत नेपाल भित्र्याउने गरेको समाचारहरु प्रकाशित हुँदै आएका थिए । पुरानो भवनको झ्यालबाट खुलेआम तस्करी हुने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापासहितको टोलिले झ्यालहरुमा जाली लगाएर बन्द गरिदिएको हो ।

जुट मिल्सको दक्षिण गेटमा रहेका संरचनाका खुला झ्याल थिए । तस्करी रोक्न प्रहरीले काठ, तारजाली र काँटीको प्रयोग गरी बन्द गरेको छ । यसलाई जुट मिल्सको लाइन क्वार्टर भनिन्छ । आवासगृहका लागि बनेका ३५ वटा जीर्ण संरचनामा पहिले मजदुरहरु बस्ने गर्दथे । यी संरचना नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक छन् ।

दशगजा नजिकै जिर्ण भवनका झ्यालबाट तस्करीका सामान नेपालतर्फ छिराउने र तस्करी गर्ने गरेपछि प्रहरीले लामो अनुसन्धानपछि भवनका झ्याल नै टालिदिएको छ । झ्यालबाटै सहजरुपमा नेपाल–भारत आउजाउ गर्नसक्ने अवस्थाको फाइदा उठाउँदै तस्करी भएको पाइएपछि बन्द गर्नु परेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

दुई नम्बरी धन्दा चलाउनेहरुले कपडाको पोका, खाद्यन्न, सुर्ती तथा सुर्तीजन्य वस्तु, लागुऔषध र खसीबोका समेत जुट मिल्स परिसरबाट नेपालतर्फ कटाउँदै आएका थिए । लामो समयदेखि चर्चामा रहेको यो विषय प्रहरीको नजरमा परेसँगै जुट मिल्सको दक्षिण गेट प्रयोग गरेर हुँदै आएको तस्करी रोकिने अपेक्षा गरिएको छ ।

सीमापार भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताले खरिद गरेको सामान जोगबनीकै व्यापारीले समेत त्यहाँसम्म ल्याएर झ्यालबाट नेपालतर्फ फ्याँकी दिने गरेको गुनासो समेत यस अगाडी बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्