जोगबनीमा भेटियो नेपाली युुवाको शव, हत्या आशंका

जोगबनीमा भेटियो नेपाली युुवाको शव, हत्या आशंका

विराटनगर। भारतको जोगवनी बजार नजिकै एक नेपाली युवाको बिहीबार बिहान शव भेटिएको छ । नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम देखिएको अन्दाजी २५-२६ वर्षको जस्तो लाग्ने युवाको शव फेला परेको हो ।


उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । तर मृत भेटिएका युवाको पहिचान भने हुन सकिरहेको छैन । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिका शव भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थल विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लगभग सय मिटर पर भारततर्फ पर्छ ।

सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको भनेर प्रहरीलाई जानकारी दिए पनि उनीहरुले नाम भने थाहा नभएको बताएका छन् । मृतक लागुऔषधका दुव्र्यसनी रहेको जानकारी प्रहरीलाई स्थानीयले दिएका छन् । लागुऔषध सेवनका लागि नियमित रुपमा जोगवनी आउजाउ गर्ने गरेका कारण स्थानीयले इटहरीका युवा भनेर चिनेको प्रहरीले जनाएको छ ।

प्रनि थापाले आफन्त र परिवारका कोही पनि सदस्य सम्पर्कमा आइनसकेकाले मृतकको पहिचान हुन नसकेको बताए । घटनाको प्रकृति हेर्दा हत्या हो या लागुऔषधको अत्याधिक सेवनका कारण ज्यान गयोभन्ने यकिन गर्न नसकिने उनको भनाइ छ ।
सीमा क्षेत्रका बासिन्दाले इटहरी घर बताएका कारण युवा नेपाली भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । मृतक युवाका अभिभावक र आफन्तको खोजी थालिएको थापाले बताए । दुवै हातमा ट्याटु रहेका मृतकले सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको जानकारी उनले दिए ।

भारतीय भूमिमा शव भेटिएका कारण घटनाको अनुसन्धान गर्दै कानुनी प्रक्रिया भारतीय प्रहरीले अघि बढाउने भएको छ । भारतीय प्रहरीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि लगेको छ । नेपाल–भारत सीमा क्षेत्रमा युवाको शव भेटिएका कारण घटनाको अनुसन्धानमा भारतीय प्रहरीलाई सहयोग गरिने थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्