सरकारले कृषि सुधार शुल्क सच्याएपछि उद्योगी उत्साहित, पीठोको मूल्य घट्यो

सरकारले कृषि सुधार शुल्क सच्याएपछि उद्योगी उत्साहित, पीठोको मूल्य घट्यो

विराटनगर । सरकारले गहुँ आयात गर्दा लाग्ने कृषि सुधार शुल्क घटाएसँगै गहुँ र मैदाको बजार मूल्य पनि घटेको छ । सरकारले गत असोज १५ गतेको मन्त्रिपरिषदको बैठकबाट गहुँको कृषि सुधार शुल्कलाई साविककै ५ प्रतिशतमा कायम गरेपछि त्यसको प्रभावमा बजारमा देखिएको हो ।
चालु आर्थिक वर्षको बजेट भाषणमा गहुँको कृषि सुधार शुल्क ५ प्रतिशतबाट बृद्धि गरेर ९ प्रतिशत पु¥याइएको थियो । शुल्क बढाइएपछि त्यसको असर गहुँ, मैदा, पीठो, सुजी र चोकरको मूल्य बढेको थियो । तर, सरकारले शुल्क साविकमै राख्ने निर्णय गरेपछि बजारमा मूल्य स्वतः घटेको दावी व्यवसायीले गरेका छन् ।

गोमती फुड प्रा.लि.का सञ्चालक हरिवंश राठीका अनुसार गहुँको मूल्यमा प्रति क्विन्टल १ सय ५० रुपिँयाले मूल्य झरेको छ । अहिले बजारमा प्रति क्विन्टल ३ हजार ७५ रुपिँया स्थिर मूल्यमा गहुँ पाइन्छ । त्यस्तै मैदाको कारखाना मूल्य पनि प्रति किलोग्राम ४२ बाट ४० रुपिँयामा झरेको छ । उद्योगी राठीले मैदासँगसँगै पीठो, सुजी र चोकरमा पनि प्रति किलोग्राम १ देखि २ रुपिँयाले मूल्य घटेको जानकारी दिनुभयो ।
गहुँको पैठारीमा सरकारले कृषि सुधार शुल्क ९ प्रतिशत बनाएपछि भारतबाट मैदा आउन थालेको थियो । तर,शुल्क घटाएसँगै अब नेपालमै उत्पादन हुने मैदा सस्तो भएकोले त्यो क्रम अब रोकिएको उद्योगी राठीको भनाई छ ।

भारतमै गहुँको मूल्यमा गिरावट आएको र अझै आउने सम्भावना देखिएको उद्योगीहरुको दावी छ । तत्काल भारतमा गहुँ केही सस्तो हुन सक्ने संकेत समेत देखिएको उनीहरुको भनाई छ । आउने गहुँको सिजनमा अहिलेभन्दा सस्तो मूल्यमा गहुँ उपलब्ध हुने उद्योगी राठीको दावी छ ।
नेपालका मैदा उद्योगलाई स्वदेशको उत्पादनले बढीमा २ महिनामात्र धान्ने र भारत सस्तो मूल्यमा गहुँ पाए त्यसको सकारात्मक प्रभाव नेपालमा पर्ने उद्योगीहरुको बुझाई छ । शारडा ग्रुपको मैदा उद्योग न्यूट्री फुड्सका सञ्चालक प्रदीप शारडाले गहुँको बफर स्टोक गर्ने उद्योगहरुलाई तत्काल घाटा भएपनि सरकारले शुल्क घटाउँदा आम नागरिकलाई फाइदा भएको बताउनुभयो ।

असोज १५ गते गहुँको कृषि सुधार शुल्क सरकारले सच्याएपछि गहुँको मूल्य घटेको बताउँदै उहाँले महँगोमा गहुँ खरिद गरेर राख्ने व्यापारी र उद्योगलाई यसबाट तत्काल घाटा लागेको भएपनि यो निर्णयले दूरगामी रूपमा सबैलाई फाइदा पु¥याएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्