टिकटक र सेल्फी खिच्नलाई मोरङ पथरीको बोक्रे रोड

टिकटक र सेल्फी खिच्नलाई मोरङ पथरीको बोक्रे रोड

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित बोक्रे चोक जाने एक किलोमिटर दुरीको एउटा सडक टिकटक बनाउने र सेल्फी खिच्नेहरुको रोजाईमा पर्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट दक्षिण करिब १ किलोमिटर कालोपत्रे यो सडक पथरी र उर्लावारीको सीमानामा छ ।


राजमार्गबाट बोक्रे चोक जानका लागि निर्माण गरिएको यो सडकमा आजकल स्थानीय भन्दा बाहिरका पाहुनाको घुँईचो लाग्ने गरेको हो ।
प्राकृतिक पुर्नउत्पादनबाट सडकको दायाँबायाँ हुर्काइएका सालका रुखहरुमा इनामेल हालेर सेतो रंग भरिएको छ । दाँयाबाँयाका रुखले सडकलाई सितल बनाएरै राख्छ ।

यो सडकमा फोटो र भिडियो खिच्नेहरुको दैनिक भीड लाग्न थालेपछि स्थानीयको भने सानोतिनो व्यापार समेत चल्न थालेका छ । पूर्व–पश्चिम राजमार्ग भएर निजी सवारीमा हिड्नेहरु यो सडकमा फोटो र भिडियो खिच्ने मरिहत्ते गर्ने गरेका छन् ।
पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि भनेर दैनिक घुँईचो बढ्न थालेको वनका अध्यक्ष मेघराज चापागाईं जानकारी दिनुभयो ।

कोरोना संन्त्रासले आक्रान्त बनाउने देखेपछि सरकारले गत चैतमा देशव्यापी लकडाउनको घोषणा ग¥यो । कोरोना संक्रमणको भयले घरमै बस्नुपर्ने बाध्यता आयो । पर्यटकीय स्थलहरु बन्द भए । यही क्रममा पूर्व पश्चिम राजमार्गमा हिँड्ने मानिसहरु यो सडकमा केही बेर बस्ने,फोटो खिच्ने तथा भिडियो बनाउन थाले । स्थानीयहरु पनि यो सडकमा आएर तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि यसको प्रचारप्रसार भएको अध्यक्ष चापागाईंको भनाई छ ।
धेरैले यो सडकमा टिकटक बनाउने गरेको भएपनि बोक्रे चोकका स्थानीयहरु यहाँ आएर सेल्फी खिच्ने भएकाले यो सडकको नाम स्थानीयले नै सेल्फि रोड राखिदिएका हुन् ।

हाल यो सडकमा दर्जनौं गीतहरुको छायांकन भइसकेको छ । सडकमै दर्जनौं आइसक्रिम तथा चटपटेका ठेलाहरु छन् । स्थानीयले सुरु गरेको सानोतिनो व्यापारले दैनिक रुपमा गुजारा चल्ने माध्यम समेत बनेको छ । ठेलामा पसल चलाएका व्यवसायी राजकुमार मण्डल दैनिक पाँच हजारसम्मको बिक्री हुने गरेको सुनाए ।

मानिसहरुको अत्याधिक उपस्थिति बढेसँगै सेल्फी रोडमा प्रदुषण भने बढेको छ । सामुदायिक वनले फोहोर मैला विसर्जनका लागि सडक छेउमा कन्टेनर राखिदिएपनि आगन्तुकहरुले जथाभावी फोहोर फ्याँकिदिने गरेका छन् । हाल सामुदायिक वनले पर्यापर्यटन क्षेत्रको रुपमा उक्त सडकलाई विकासित गर्ने योजना अघि सारेको छ ।

जंगलबीचमा यस्तो सडक बनेपछि थोरैपनि जंगल सफारीको आनन्द लिनेहरुको पनि कमी छैन । आफ्नै साधन प्रयोग गरेर आनन्द लिनेहरुको अनुभूति पनि कम छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्