विराटनगरका यातायात व्यवसायीलाई दशैंमा घरघाटा

विराटनगरका यातायात व्यवसायीलाई दशैंमा घरघाटा

विराटनगर । विराटनगर बसपार्कबाट धनगढी, दाङको तुलसीपुर र नेपालगञ्जका लागि तीनवटा बस छुट्दै आएका थिए । प्रत्येक बसमा ३५ देखि ४० जना यात्रु हुन्थे । गन्तव्यमा पुगेर फर्कदा समेत उतिकै यात्रुको चाप थियो ।
कोरोना संक्रमणसँगै चैत ११ पछिको बन्दाबन्दी र साउनदेखि सञ्चालनमा आएका सार्वजानिक सवारीले दशैंमा समेत यात्रु पाएनन् । यातायात व्यवसायी संघ मोरङका अध्यक्ष राजन कँडेलका अनुसार तीनवटा गन्तव्यमा दैनिक ३ वटा बस छुट्ने ठाउँमा अहिले एउटा मात्रै बस छुट्दा समेत १० देखि १५ जना मात्रै यात्रु हुने गरेका छन् ।

घरघाटामा बसहरु चलाईरहेका छौं, संघका अध्यक्ष कँडेलले भन्नुभयो–के गर्ने र कसो गर्ने अवस्थामा पुग्यौं । उहाँका अनुसार दशैंभर सार्वजानिक यातायातमा चढ्ने यात्रु यस पटक निजी सवारी र अटो तथा टेम्पोमा चढेका छन् ।
सुनौलो पूर्व नेपाल यातायात प्रा.लि.का कोषाध्यक्ष राजु धमलाले विराटनगर–इनरुवा, उर्लावारी, दकम, बिर्तामोड, काकडभिट्टा र धरानसम्मको छोटो दुरीका गाडीको अवस्था पनि उस्तै रहेको बताउनुभयो । गाडी छुटे तर यात्रु नहुँदा रित्तै गए र रित्तै फर्के, धमलाले भन्नुभयो–इन्धन खर्च र स्टाफ खर्च बेहोर्न समेत सकेन ।

सामान्व अवस्थामा विराटनगर–काकडभिट्टा ओहोर–दोहोर गर्ने १५० सवारी छन् । यतिका संख्यामा रहेका बसमध्ये दशैभर ३० प्रतिशत पनि चल्न नसकेको हो । त्यहि पनि यात्रु नहुँदा बसका कार्यरत स्टाफको भत्ता समेत दिन नसकिएको यातायात व्यवसायी संघ मोरङका अध्यक्ष कँडेलको भनाई छ ।
यात्रु नभएका कारण स्फाटले भत्ता माग्ने आँट गरेका छैनन, अध्यक्ष कँडेलले भन्नुभयो–यातायात क्षेत्र डामाडोल भयो, सरकारसँग पनि भर पर्ने अवस्था देखिरहेको छैन ।

सामान्य अवस्था रहँदा १० देखि १५ मिनेटको अन्तरमा छुट्ने छोटो दुरीका बसहरु अहिले ३० देखि ४५ मिनेटको अन्तरमा छुट्ने गरेका हुन् । बसपार्कमै आएर चढ्ने एकजना पनि यात्रु नपाएपछि कतिपयले पालो छोडेर बसपार्कमै गाडी छोड्ने समेत गरेको व्यवसायीहरुको भनाई छ ।
कोरोना संक्रमणको भय झन् बढ्दै जाँदा सार्वजानिक यातायातमा यात्रा गर्नेहरुको संख्या झन् घट्दो क्रममा रहेको हो । सामान्य अवस्थामा विराटनगर बसपार्कबाट दैनिक ३०० देखि ३५० सय बसहरु लामो तथा छोटो दुरीका लागि छुट्ने गरेका थिए । तिनिहरुमा कार्यरत मजदुरको गुजारा समेत सहज रहेको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का प्रदेश १ संयोजक किशोर धमलाले सवारीमा कार्यरत चालक, सहचालक र सहयोगी मात्रै नभई बसपार्कमा गाडी सफाई गर्नेहरु समेत बेरोजगार हुने अवस्था आएको बताउनुभयो ।
कोरोना सन्त्रास स्थिति सहज हुन अझै ६ महिना लाग्ने आकंलन व्यवसायीहरुले गरिसकेका छन् । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले केहि राहत दिएपछि आसा जगाएपनि अवस्था झन् जटिल बन्दै गएकोले यातायात क्षेत्र अत्तालिने अवस्था आएको उनीहरुको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्