प्रदेशका राजधानीमा बुथ राखेर महासङ्घको निर्वाचन गराउन मोरङका उद्योगी–व्यवसायीको माग

प्रदेशका राजधानीमा बुथ राखेर महासङ्घको निर्वाचन गराउन मोरङका उद्योगी–व्यवसायीको माग

विराटनगर । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले सातै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बुथ राखेर नेपाल उद्योगवाणिज्य महासङ्घको निर्वाचन गराउन माग गरेका छन् ।
मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले महासङ्घका अध्यक्ष भवानी राणालाई पत्राचार गर्दै महासङ्घको नेतृत्वका लागि आगामी मङ्सिर १३ गते गर्न लागिएको निर्वाचन सहभागीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी प्रादेशिक स्तरमा सहज रूपमा गराउन आग्रह गरेका हुन् ।

‘पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण मुलुकभरि भयावह अवस्थामा वृद्धि भई नियन्त्रणभन्दा बाहिर जाने परिस्थिति सिर्जना हुँदै गएको छ’, पत्रमा भनिएको छ, ‘काठमाडौंमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्यामा भइरहेको वृद्धिले उपत्यका सङ्क्रमणको केन्द्रविन्दुका रूपमा परिणत हुँदै गएको छ ।’

यस्ता अवस्थामा काठमाडौंमा हुन लागेको महासङ्घको निर्वाचनमा मुलुकभरिका सदस्य प्रतिनिधिको व्यापक सहभागिता रहने हुँदा सङ्क्रमणको जोखिम झन् भयावह हुने पत्रमा उल्लेख गरिएको छ ।

सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र सङ्गठनका अध्यक्ष भीम घिमिरेका हस्ताक्षरमा पठाएको पत्रमा भनिएको छ, ‘जिल्ला र नगरबाट राजधानीमा सहभागी हुन जोखिमपूर्ण भएको छ साथै यस्तो भयभीत परिस्थितिमा घरपरिवारबाट समेत घरबाहिर नजान उपयुक्त हुने दबाब भइरहेकाले काठमाडौंकेन्द्रित निर्वाचन कार्यक्रम उपयुक्त छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्