विराटनगर । भारतमा राहत बाँडिएको चामल नेपाल भित्रिएपछि चामलको मूल्य घट्न थालेको छ । भारत सरकारले त्यहाँको निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई वितरण गरेको राहतको चामल नेपाल भित्रिन थालेको व्यापारीहरुको दावी छ । सस्तो चामल भित्रन थालेसँगै चामल पैठारीको तथ्याङ्क दोब्बरभन्दा बढीले बढेको छ ।
चामल धेरै परिमाणमा आयात गरिएपछि गत वर्षका तुलनामा यसवर्ष नेपालको बजारमा यसको मूल्यसमेत घटेको हो । भारत सरकारले कोभिड सङ्क्रमणयता आफ्नो देशका ८० करोडभन्दा बढी जनतालाई प्रति किलोग्राम १ रुपैयाँका दरले एक जनालाई महिनामा १० किलोग्रामसम्म चालम वितरण गर्दै आएको छ ।
भारतको फुड कर्पोरेसन अफ इन्डिया (एफसिआई)–मार्फत् त्यहाँका जनतालाई रासनको चामल वितरण भईरहेको हो । तर आधाभन्दा बढी जनसङ्ख्याले उक्त चामल स्थानीय पसलेलाई विक्री गर्दछन् । त्यही चामल सङ्कलन भएर निर्यातको अवस्थासम्म आइपुगेकोले नेपाल भित्रन थालेको हो । नेपालका सबैजसो चामलका आयातकर्ता अहिले त्यही चामल ल्याउन पल्किएका छन् ।
विराटनगर नाकाबाट गत आर्थिक वर्ष २०७६–७७ को प्रथम त्रैमासिक अवधिका तुलनामा चालु आव २०७७–७८ को सोही अवधिमा चामलको पैठारी उल्लेखनीय वृद्धि भएको छ ।
गत आवको असोज मसान्त सम्ममा यस नाकाबाट ३१ करोड १२ लाख मूल्यको ७ हजार ४ सय ३४ मेट्रिक टन चामल पैठारी गरिएको थियो । तर चालु आवको असोज मसान्तसम्ममा ७३ करोड ६४ लाख मूल्यको १८ हजार मेट्रिक टन चामल आयात भइसकेको छ ।
आर्थिक वर्ष २०७५–७६ का तुलनामा गत आर्थिक वर्ष २०७६–७७ मा विराटनगर नाकाबाट चामलको पैठारी घटेको थियो । तर चालु आवको प्रथम त्रैमासिक अवधिको तथ्याङ्क हेर्दा यस वर्ष ठूलो परिमाणमा पैठारी हुने देखिन्छ ।
आर्थिक वर्ष २०७५–७६ मा विराटनगर नाकाबाट १ अर्ब ६५ करोड ७ लाख मूल्यको ४० हजार ४ सय १८ मेट्रिक टन चामलको पैठारी गरिएको छ । तर गत आव २०७६–०७७ मा यो तथ्याङ्क घटेर १ अर्ब ३८ करोडको ३० हजार ९ सय मेट्रिक टन चामल पैठारी गरिएको तथ्याङ्क भन्सार कार्यालयले उपलब्ध गराएको छ ।
तर चालु आवमा भारतमा रासनमा वितरण गरिएको चामलका कारणले विराटनगर नाकाबाट ५२ हजार मेट्रिक टनभन्दा बढी चामल पैठारी हुनसक्ने प्रक्षेपण जानकार व्यवसायीले गरेका छन् ।
‘रासनको चामल सोना ग्रेडको हल्का मोटा हुन्छ’, चामल उद्योगी सुधीर तोदीले भने, ‘यो चामल भारतको बजारमा प्रति किलोग्राम २० रुपैयाँमा पाइन्छ । नेपालका पैठारीकर्ताले ल्याएर प्रति किलोग्राम ३३ रुपैयाँमा विक्री गरिरहेका छन् ।’
भारत सरकारले आफ्ना गरिब जनतालाई वितरण गरेको रासनको चामल विराटनगर, वीरगञ्ज र भैरहवाजस्ता मुख्य भन्सारबाट नियमित रूपमा भित्रिरहेको तोदीले बताए ।
रासनको चामल प्रशस्त भित्रिएका कारण जिरा मसिनो चामलको मूल्य र विक्रीमा असर परेको छ’, राधाकृष्ण राइस मिलका सञ्चालक तोदीको भनाइ छ, ‘सोना चामल नेपालमा प्रशस्त भित्रिएपछि जिरा मसिनो खरिद गर्ने पनि सोनामा पल्किए । गत वर्ष भारतमा जिरा मसिनोको उत्पादन पनि प्रशस्त थियो । यसका कारण अहिले यो चामलको मूल्य गत वर्षको यति बेलाकै बराबरमा छ ।
उनले गत वर्ष यति बेला प्रति किलोग्राम ५६ रुपैयाँमा जिरा मसिनो चामल विक्री गरेको र यस वर्ष पनि यही भाउमा विक्री भइरहेको जानकारी दिए ।
‘हामीले धान खरिद गरेर ९ महिनासम्म गोदाममा राख्यौँ’, उनको दुखेसो थियो, ‘त्यसको सुक्तीमा घाटा भयो । गोदाम भाडा, श्रमिकको खर्च र ब्याज सबै लाग्यो । अहिले विक्री हुने बेलामा घटेर बेच्नु पर्यो ।’
तोदीले चामल र धानको पैठारी गर्दा भन्सार कार्यालयमा लाग्ने कृषि सुधार शुल्कको अन्तर कम भएका कारणले चामलको बढी आयात हुँदा नेपालका राइस मिलहरू सङ्कटमा परेको दाबी गरे ।
नेपाल सरकारले चामलको पैठारी गर्दा कृषि सुधार शुल्क ९ प्रतिशत र धानको पैठारीमा ५ प्रतिशत तोकेको छ । चामल र धानमा कृषि सुधार शुल्कको फरक ४ प्रतिशत मात्र हुँदा चामल ल्याएर प्याकिङ गरेर विक्री गर्दा नै व्यवसायीलाई बढी फाइदा भएको पाइएको छ ।
चन्द्रशिव राइस मिल्सका सञ्चालक नरेश राठीले आयातीत चामलका कारणले नेपालका चामल उद्योगहरू ५० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको उल्लेख गरे ।
उनले भने, ‘भारतमा उत्पादन लागत सस्तो पर्छ । त्यसैले यहाँ धान ल्याएर उत्पादन गर्नुभन्दा त्यहीँ उत्पादित चामल पैठारी गर्दा सस्तो र फाइदाकारक हुन्छ ।’
अर्का चामल व्यवसायी राजेन्द्र अग्रवाल सिङ्गापुरीका अनुसार सस्तो चामलको मूल्य घटेको भए पनि बिलासी उपभोक्ताले प्रयोग गर्ने बास्मती र लङ ग्रेन जातका चामलको मूल्य घटेको छैन ।
व्यवसायी सिङ्गापुरीले मसिनो चामलको मूल्य प्रति किलोग्राम ९० बाट सुरु हुने र १ सय ६० सम्म पर्ने बताए । उनले यस्तो चामल गत वर्षभन्दा अहिले प्रति किलोग्राम ५ देखि १५ रुपैयाँसम्मले वृद्धि भएको दाबी गरे ।
‘मसिनो चामल भनेको ‘एक्स्पोर्ट आइटम’ हो’, उनले भने, ‘मसिनो चामलको माग युरोप, अमेरिका, बेलायत र खाडीका सबै धनी र विकसित मुलुकमा पर्याप्त छ । त्यसैले यसको मूल्य घटेको छैन ।’
गोल्छा अर्गनाइजेसनअन्तर्गतको भूदेव खाद्य उद्योगका सञ्चालक सुरेन्द्र गोल्छाले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्यटकको आगमन ठप्प भएको हुँदा मसिनो र बास्मती चामलको विक्रीमा ह्रास आएको जानकारी दिए ।