विराटनगर । विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। मकैको मूल्य सस्तिएपछि उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन्।
मदिरा उद्योगीहरुले भारतबाट मकै आयात गर्दै आएका छन् । मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात समेत बढेको छ। नेपालमा मकैको प्रयोग मुख्यतया कुखुरा लगायत पशुपन्छीका दाना उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको थियो।
शारडा समूहको सञ्चालनमा सुनसरीमा रहेको मदिरा उद्योग प्रिमियर अर्गानिक्सले चामलको सट्टा मकैबाट मदिराको कच्चा पदार्थ उत्पादन गर्न थालेको छ। प्रिमियरले रेक्टिफाइड स्पिरिट (आरएस) र एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए) गरी मदिराका २ प्रकारका कच्चा पदार्थ उत्पादन गरेर अन्य मदिरा उद्योगलाई बिक्री गर्छ।
‘चामलबाट भन्दा मकैबाट केही कम मात्रामा नै कच्चा पदार्थ उत्पादन हुन्छ,’ प्रिमियरका सञ्चालक प्रदीप शारडाले भने, ‘तर यस वर्ष मकैको मूल्य सस्तो भएकाले हामीले मकैबाट आरएस र इएनए उत्पादन गर्दा नै नाफा हुने देख्यौं। त्यसैले मकैबाट उत्पादन गर्न थालेका हौं।’ उद्योगी शारडाले प्रिमियर अर्गानिक्सलाई आरएस र इएनए उत्पादन गर्न दिनको ५० देखि ६० टन मकै आवश्यक पर्ने जानकारी दिए।
प्रिमियर बाहेक केही उद्योगले मात्रै मकै प्रयोग गरेका छन्। ब्लेन्डेड राम्रोसँग गर्न नसकेमा मकैबाट बनेको मदिराको स्वादमा फरक पर्ने एक मदिरा उद्योगीले बताए। ‘चामल र मोलासिसको जस्तो स्वाद मकैमा आउँदैन,’ ती उद्योगीले भने, ‘विदेशमा राम्रो ब्राण्डमा पनि प्रयोग भएको छ। तर त्यसमा ब्लेन्ड राम्रो गर्न जान्नुपर्छ। त्यही भएर सस्तो भयो भन्दैमा प्रयोग गर्नुपर्छ भन्ने ठानेनौं।’ ती उद्योगीले केही समयको नाफाका लागि मकै मिसाएर ब्राण्ड बिगार्न नखोजिएको बताए।
चालु आर्थिक वर्ष २०७७\२०७८ को प्रथम त्रैमासिक अवधिमा विराटनगर नाकाबाट गत वर्षको सोही अवधिको भन्दा ६१ हजार ३ टन बढीले मकै पैठारी भएको हो।चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सो नाकाबाट १ अर्ब ६२ करोड ९८ लाख मूल्यको ६९ हजार ८ सय ६७ मेट्रिक टन मकै पैठारी गरिएको छ। उक्त मकै प्रतिकिलो २३ रुपैयाँ ३२ पैसाले पैठारी गरिएको पाइएको छ।
अघिल्लो आर्थिक वर्ष २०७६\२०७७ को असोज मसान्तसम्ममा भने विराटनगर नाकाबाट ३३ करोड ४ लाख मूल्यको ८ हजार ८ सय ६४ टन मात्र मकै पैठारी गरिएको थियो। मकै चालु आवको भन्दा महँगो दरमा प्रति किलो ३७ रुपैयाँ २७ पैसाले आयात गरिएको देखिन्छ। विराटनगर भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा भन्दा गत आव २०७६र ७७ मा मकै महँगो मूल्यमा पैठारी गरिएको छ। साथै अघिल्लो आव २०७५\२०७६ मा भन्दा गत आव २०७६\२०७७ मा मकैको पैठारी ३२ हजार ४ सय ९६ टनले कम छ। अघिल्लो आव २०७५\२०७६ मा ३ अर्ब ५७ करोड ४६ लाख मूल्यको १ लाख २१ हजार १ सय ४८ टन मकै पैठारी गरिएको थियो । उक्त मकैको प्रतिकिलो २९ रुपैयाँ ५० पैसा परेको देखिन्छ।
त्यस्तै गत आव २०७६\२०७७ मा २ अर्ब ८६ करोड ६९ लाख मूल्यको ८८ हजार ६ सय ५२ टन मकै विराटनगर नाकाबाट पैठारी गरिएको छ। उक्त मकै अघिल्लो आवभन्दा महँगो दरमा प्रतिकिलो ३२ रुपैयाँ ३३ पैसाका दरले पैठारी गरिएको थियो। नेपाल दाना उत्पादक संघका राष्ट्रिय उपाध्यक्ष एवम् सागर फिड उद्योगका सञ्चालक ज्ञानु पराजुलीका अनुसार गत वर्ष महाराष्ट्र र मध्यप्रदेशमा आएको बाढीका कारण भारतमा मकैको फसल बिग्रिएको थियो र त्यहाँ नै अभावको स्थिति उत्पन्न भएको थियो। भारतबाट गत वर्ष मागबमोजिमको मकै पैठारी हुन नसकेपछि नेपालका दाना उद्योगीले समुद्रपारका युक्रेन र बर्माबाट मकैको पैठारी गरेका थिए।
अभावका कारण गत वर्ष भदौ महिनामा मकैको मूल्य प्रति किलो ३४ देखि ३५ रुपैयाँ थियो भने पुस–माघतिर ४२ रुपैयाँ पुगिसकेको थियो ।
‘तर यस वर्ष भारतमा मकैको उत्पादन राम्रो छ र मूल्य पनि यतिबेला सस्तो नै छ,’ उद्योगी पराजुलीले भने, ‘भारतमा मकैको सबैभन्दा ठूलो मन्डी बिहारको गुलाबबाग हो। गुलाफबाग विराटनगरको दक्षिण सिमानाबाट ७० किलोमिटर टाढा छ । विराटनगर नाकाबाट भित्र्याइने अधिकांश मकै त्यहीँबाट पैठारी गरिन्छ।’
उनले नेपालका दाना उद्योगले कात्तिक महिनाभित्र मकै खरिद गरेर स्टक गरिसक्ने बताए। कात्तिकपछि मकैको मूल्यमा वृद्धि हुने हुँदा उद्योगहरूले एक वर्षलाई पुग्ने मकै कात्तिकको दोस्रो हप्तासम्म खरिद गरिसक्छन्। पराजुलीले नेपालमा साना–ठूला गरी ६० वटा दाना उद्योग भएको जानकारी दिए। जसमध्ये प्रदेश १ मा मात्र १४ वटा छन्। पशुपन्छीको दानाको प्रकार हेरेर दानामा ५० देखि ६० प्रतिशत मकैको प्रयोग गरिन्छ।
‘नेपालका सबै दाना उद्योगलाई वर्षमा साढे ५ देखि ६ लाख टन मकै चाहिन्छ,’ उनले भने, ‘नेपालको एक उद्योगले कच्चा पदार्थका रूपमा दैनिक औसत ३० टन मकै प्रयोग गर्दा देशभरिका उद्योगलाई दिनमा १ हजार ८ सय टन मकै आवश्यक पर्छ।’ देशभरिका दाना उद्योगलाई नेपालमा गरिएको मकैको उत्पादनले एक महिना पनि धान्न नसक्ने पराजुलीले बताए।