सरकारको जनता आवास : नयाँ घरमा न शौचालय, न त पानी र बिजुली सुविधा

सरकारको जनता आवास : नयाँ घरमा न शौचालय, न त पानी र बिजुली सुविधा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ मा सरकारी कोषबाट निर्मित जनता आवास (घर) मा शौचालय, पानी र बिजुली जडान नगर्दै नागरिकलाई हस्तान्तरण गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभूत आवश्यकताको प्रवन्ध नमिलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

राज्यको कोषबाट नागरिकका लागि निर्मित घरहरुमा आधारभूत आवश्यकता र अतिआवश्यकीय प्रवन्ध बिना नै हस्तान्तरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अथितिको रुपमा कार्यक्रममा पुग्नु भएको थियो । मोरङ क्षेत्र नम्बर ४ अन्तर्गतका संघीय सांसद अमनलाल मोदीको निम्तामा मुख्यमन्त्रीसँगै आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वाससहितको उपस्थिति रहेको थियो । ग्रामथान गाउँपालिकाले आफ्ना नागरिकका लागि निर्माण गरेको आवास हस्तान्तरणका लागि औपचारिक कार्यक्रमको आयोजना गरेको हो ।

तर, कार्यक्रम गरेर मुख्यमन्त्रीले नागरिकलाई हस्तान्तरण गरेका घरमा शौचालय भएर पनि जडान नगरिएको, पानीको स्रोतको यकिन नै नभएको र बिजुलीको समेत सुविधा छैन । एकिकृत नमूना बस्तीका लागि तराई मधेश समृद्धि कार्यक्रमको ६७ लाख ९ हजार १९६ रुपैँया स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १ करोड १९ लाख ८६ हजार र ग्रामथान गाउँपालिकाको १ करोड १७ लाख ४५ हजार लागत साझेदारी रहेको गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिनुभयो ।

सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत ग्रामथान नेताचौकको नहर डीलमा बसोबास गर्ने नागरिकलाई २०७० सालमा हटाइएको थियो । त्यहाँबाट हटेकामध्ये जग्गावालाहरु आफ्नै जमिनमा घर बनाएर सरेका थिए । नरहकै डीलको भरमा रहेका भूमिहिनको २०७० सालदेखि बसोबासको कुनै टुङ्गो थिएन ।

संघीय सांसद मोदीले राज्यको विभिन्न निकायबाट घर निर्माणका लागि स्रोत जुटाएर तिनै ३४ सुकुम्वासीहरुलाई घर निर्माणका लागि स्थानीय तहको संन्चित कोषमा जम्मा गरेको रकमबाट घरहरु बनाइएका हुन् । यसरी बनेका घरहरुमा गत वर्षात्कै समयमा स्थानीय सरिसकेका थिए । उनीहरु बस्दै आएको घर पानीले डुबाएपछि स्थानीयले आफ्नै लागि बनेका घरमा बस्न पाउनुपर्ने माग गरेपछि सरका हुन् ।

तर, त्यसरी उनीहरु बस्न थालेपनि अहिलेसम्म घर भित्रै बनेको शौचालयको पाइप हजसम्म जडान गरिएको छैन । शौचालय र पानी चाँहि तत्काल जोडिदिनु भनेका थियौं, स्थानीय प्रमिला चौधरीले भन्नुभयो–अहिले साँझपख वा बिहान उज्यालो हुनु अगाडी खोलाको डिलमा जान्छौं ।
नजिकै रहेको खद्रा खोलाको डीलमा उनीहरु खुल्ला स्थानमा शौच गर्ने गरेका हुन् ।

ग्रामथान गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । त्यस्तो क्षेत्रमा सरकारको लगानीमा बनेका घरमा शौचालय र पानीको प्रवन्ध नहुँदा बस्नेहरु समेत अचम्ममा छन् ।

स्थानीय अजय निर्धाका अनुसार निर्माणमा आफूहरुलाई समेत सहभागी गराएर रोजगारी दिएको भएपनि बाँकी रहेको काममा चासो दिन छोडिएको छ । गाउँपालिकाका अध्यक्ष माझीले अहिले नयाँ घरमा बस्नेहरुले खोलाकै डीलमा दिसा गरिरहेको बताउनुभयो । उहाँले तिहार अगाडी नै पानीको व्यवस्था र तिहार पछाडी शौचालयको पाइप जडान गरिने बताउनुभयो । त्यसबेलासम्म बाहिरै दिसापिसाब गर्ने हो, अध्यक्ष माझीले भन्नुभयो–निर्माणकै क्रममा रहेको छौं, बजेट अभाव हुँदा सम्पन्न गर्न नसकिएको हो ।

जनताका लागि बनेका आवासको स्थलगत निरिक्षण गर्दै पुग्नु भएका मुख्यमन्त्री तथा मन्त्रीहरुले अवलोकन गरेकै घरको शौचालयको प्यान भने फुटिसकेको थियो । निर्माण भएका घरका ढोकामा चुकुल (खिड्की) समेत नलगाइको पञ्चनन्दन माझीले गुनासो गर्नुभयो ।  त्यस क्रममा मुख्यमन्त्री शेरधन राईले नागरिकसँग नजिक बसेर सरकारले जनमैत्री काम गरिरहेको धारणा राख्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्