पाँचजना संक्रमितको मृत्यु

पाँचजना संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा कोरोना संक्रमणका कारण पाँच जनाको मोरङमा मृत्यु भएको छ । चारजनाको अस्पतालमा र एकजनाको होमआईसोलेशनमा रहेकै अवस्थामा मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । झापा गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको हो । रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको दाहालले बताए ।

सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८ः१० बजेतिर मृत्यु भएको छ । दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ ।

मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा ज्यान गएको दाहालले बताए । मृतकमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेको उनको भनाइ छ ।

झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ ।
मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्