सरकारले भनेको नागरिकले मानिरहेका छन् : मन्त्री ढकाल

सरकारले भनेको नागरिकले मानिरहेका छन् : मन्त्री ढकाल

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आग्रहलाई नागरिकले स्वीकार गरिरहेको बताउनु भएको छ ।
विराटनगरमा बिहीबार कोसी अस्पताल र कोसीको कोभिड–१९ उपचार केन्द्रको अवलोकनपछि मन्त्री ढकालले सरकार नागरिकप्रति र नागरिक सरकारप्रति सहयोगी बनिरहेको बताउनु भएको हो ।

मन्त्री ढकालले सरकारले भनेका राम्रा कुरामा समेत नागरिकलाई भड्काउने प्रयास विफल हुँदै गएको दावी गर्नुभयो । उहाँले कोरोना संक्रमणपछि लक्षणबिहीन नागरिकलाई होम आईसोलेशनमा बस्नका लागि सरकारले गरेको आग्रह अहिले कार्यन्वयन भईरहेको बताउनुभयो ।
नागरिकको स्वास्थ्य सुरक्षाप्रति पूर्ण जिम्मेवार रहँदारहँदै सरकारलाई बद्नाम गराउन खोजिएको भन्दै मन्त्री ढकालले कुनैदिन आफूले होम आईसोलेशनमा बस्नका लागि गरेको आग्रह अहिले नागरिक आफैंले स्वतः कार्यन्वयन गरिरहेको बताउनुभयो ।

मन्त्री ढकालले कोभिड–१९ महामारीलाई आम नागरिकले साझा समस्या र सरकारको भूमिकामा समेत सहभागीता आवश्यक रहेकोप्रति जोड दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियतले आफूले कुनै बेला विदेशबाट आएका नागरिकलाई होम आईसोलेशनमा बस्ने र समस्या भएको अवस्थामा सरकारकालाई खबर गर्ने भनि दिएको विचारलाई विवादमा तानिएपनि अहिले आएर त्यहि सहित भएकोमा मन्त्री ढकाल मख्ख देखिनु भएको थियो ।

संक्रमितमध्ये ८२ प्रतिशत नागरिक होम आईसोलेशनमा रहेको बताउँदै मन्त्री ढकालले लक्षणबिहीन व्यक्तिले अस्पताल नै भर्ना हुन खोजे थेग्न नसक्ने अवस्था आउनेतर्फ नागरिक आफैं सचेत रहेकोमा खुशी व्यक्त गर्नुभयो । महामारी विरुद्ध नागरिकले सरकारलाई सहयोग गरिरहेको र सरकारले पनि समस्यामा परेका नागरिकको स्वास्थ्य सुरक्षामा प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।
उहाँले महामारी विरुद्ध लड्न सबैको सहयोग आवश्यक रहेको र अहिले ईच्छा अनुसार सहयोग गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिनुभयो ।

सरकारले नेपालमा कोभिड–१९ विरुद्ध लड्नका लागि आवश्यक औषधी र भ्याक्सिन खरिदका लागि अध्यादेश जारी गरेको बताउँदै मन्त्री ढकालले नेपालीहरुमा भ्याक्सिन प्रयोग गर्ने दिन चाँडै आउने दावी गर्नुभयो ।
मन्त्री ढकालले कोरोना महामारीसँग जुध्नका निम्ति पर्याप्त अक्सिजनको उपलब्धतासँगै देशभरमा तीन हजार ५०० अक्सिजन शैया विस्तार गर्ने योजना राखिएको जानकारी दिनुभयो ।

उपत्यकामा मात्रै दुई हजार अक्सिजनसहितको शैया विस्तार गर्ने योजना अगाडी बढाई सकिएको मन्त्री ढकालको दावी थियो ।
यसैगरी देशभरमा ६ हजार २०२ शैया महामारी लक्षित थपिएको बताउँदै उहाँले कोरोना महामारीलाई बुझ्ने सवालमा एकरुपता आवश्यक रहेको बताउनुभयो ।
सरकारले कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका लक्षणबिहीन नागरिकलाई होम आईसोलेशनमै बस्नका लागि गरेको आग्रहलाई नागरिकले पूर्णतः पालना गरिरहेको बताउँदै उहाँले अत्यावश्यक सेवा आवश्यक भएका नागरिकका लागि सरकारले निःशुल्क सेवा प्रदान गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्