विराटनगरको कोसी अस्पतालमा धमाधम नयाँ संरचना निर्माण हुँदै

विराटनगरको कोसी अस्पतालमा धमाधम नयाँ संरचना निर्माण हुँदै

विराटनगर । कोसी अस्पताल विराटनगरमा पूर्वाधारका निर्माण योजनाले तिव्रता पाएको छ । अस्पतालका पुराना जीर्ण भवनहरु भत्काएर नयाँ निर्माणको कार्य धमाधम अगाडी बढाइएको हो ।
कोसी अस्पताललाई प्रदेश १ कै नमूना अस्पतालको रुपमा विस्तार गर्ने योजनासहित सरकारले विभिन्न शिर्षकमा बजेटको व्यवस्थापन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोसी अस्पताललाई उच्चस्तरको सुविधा सम्पन्न अस्पताल बनाउने योजनासहित प्राथमिकतामा राख्नु भएको हो ।

बिहीबार कोसी अस्पतालमा निर्माण भईरहेको नयाँ संरचना तथा स्वास्थ्य सेवाको विषयमा जानकारी लिदैं मन्त्री ढकालले धमाधम संरचना तयार गरेर स्वास्थ्य सेवा प्रदान गर्नका लागि थप बजेटको प्रबन्ध मिलाइने दावी गर्नु भएको छ । उहाँले कोसीलाई प्रदेशको मात्रै नभई देशकै नमूना अस्पतालमा विस्तार गरिने बताउनु भएको हो ।

कोसी अस्पताल परिसरमा रहेका सबै पुराना संरचना भत्काएर आधुनिक संरचना निर्माणको काम धमाधम सुरु गरिएको छ । अस्पतालमा २५० शैयाबाट विस्तार गरेर ५०० शैयाको अस्पतालका लागि आवश्यक संरचना निर्माणको अगाडी बढाइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार अहिले भईरहेका तीनवटा ब्लक बाहेक अन्य सबै पुराना संरचनाहरु भत्काएर नयाँ संरचना तयार गर्न लागिएको हो । कोसी अस्पतालको जग्गा अतिक्रमण गरेर विभिन्न संघ तथा संस्थाले निर्माण गरेको टहरे संरचनालाई हटाउन थालिएको छ ।

अस्पतालमा आकस्मिक विभागका लागि ६ करोड, आईसीयू विभागका लागि ३ करोड, कोभिड उपचार केन्द्रका लागि ३ करोड १२ लाख र स्तरोन्नतीका लागि ७ करोड रुपिँया बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन भएर आएकोे मेसु दासले जानकारी दिनुभयो ।
यसैगरी अमेरिकी सेनाको सहयोगमा ११ करोड लगातमा प्रसुती विभाग भवन निर्माणको काम धमाधम भईरहेको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयले साढे छ तलाको मेडिकल भवन निर्माणको लागि प्रक्रिया बढाएको मेसु दासले जानकारी दिनुभयो । क्याथल्याबसहितको मेडिकल भवन निर्माणको प्रक्रिया समेत संघीय सरकारले अगाडी बढाएको हो ।

कोसी अस्पतालमा २५ शैयाको कोभिड अस्पताल सञ्चालनका लागि आएको रकम भने प्रदेश सरकारले सञ्चालन गरिरहेको कोसीको कोभिड उपचार केन्द्रमै आवश्यक सामाग्री खरिद गरेर हस्तान्तरण गरिने भएको छ । कोभिड उपचार केन्द्रमा १५ शैया आईसीयूसहित एकसय शैयाको विस्तार गरिदैं छ । जसमा नागरिक सहभागीता समेत रहेको छ । प्रदेश सरकार, कोसी अस्पताल र नागरिक साझेदारीमा कोसी कोभिड १०० शैयाको उपचार केन्द्र निर्माण भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्