सरकारले रकम नदिदाँ विराटनगरमा निर्माणाधिन चरणमा रहेको कोभिड उपचार केन्द्रको काम अलमलमा

सरकारले रकम नदिदाँ विराटनगरमा निर्माणाधिन चरणमा रहेको कोभिड उपचार केन्द्रको काम अलमलमा

विराटनगर । सहमति अनुसार प्रदेश १ सरकारले दिने भनेको रकम दिन ढिलाई हुँदा विराटनगरमा निर्माणाधीन बृहत् नागरिक केयर सेन्टर निर्माणको काममा समस्या उत्पन्न भएको छ ।

कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र परिसरमा रहेको नेशनल ट्रेडिङको पुरानो गोदाम घरमा केयर सेन्टर निर्माण भईरहेको छ । प्रदेश सरकारले कोशिको कोभिड उपचार केन्द्र समेत नेशनलकै प्रशासनिक भवनमा गत चैतदेखि सञ्चालनमा ल्याएको छ ।
निजी क्षेत्रलाई समेत सहभागी गराउँदै कोभिड उपचार केन्द्र सञ्चालनका लागि निर्माण भईरहेको केयर सेन्टरको काममा प्रदेश सरकारले रकम दिन भने ढिलाई गरेको हो ।

सेन्टरका अध्यक्ष पवनकुमार शारडाले प्रदेश सरकारबाट समयमा रकम उपलब्ध नभएका कारण निर्माणको काम अलपत्र पर्ने अवस्थामा पुगेको बताउनुभयो । विराटनगरमा १ सय शय्याको कोभिड केयर सेन्टरको स्थापना र सञ्चालनमा ल्याउनका लागि प्रदेश सरकारले नै निजी क्षेत्रसँग सहकार्यका लागि आग्रह गरेको थियो । त्यो आग्रहलाई स्वीकार गरेको निजी क्षेत्रको अगुवाईमा काम भईरहेको भएपनि प्रदेश सरकारले नै दिनुपर्ने रकम नदिएको उनीहरुको गुनासो छ ।

कोरोना संक्रमितको उपचारका लागि स्थापना गर्न लागिएको केयर सेन्टरका लागि मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष शारडाका अध्यक्षतामा बृहत् नागरिक केयर सेन्टर नामको संस्था समेत गठन गरिएको छ । त्यसैलाई निर्माण कार्यको जिम्मेवारी दिइएको हो ।
सेन्टरले प्रदेश सरकारसित सहमति गरी प्रदेशले हाल नेसनल ट्रेडिङको भवनमा चलाउँदै आएको ५० शय्याको कोभिड अस्पतालमा नै १ सय शय्या थप गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले सेन्टरमा परीक्षणका उपकरण खरिद गर्न र विद्युत् खर्चका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो।

सरकारले यस्ता सामाग्री खरिद गर्दा प्रक्रिया लामो हुने भएकोले निजी क्षेत्रलाई नै खरिदका लागि दिने सहमति भएको थियो । तर, २२ दिन बितिसक्दा समेत रकम नदिएको शारडाले बताउनुभयो ।
उनले प्रदेश सरकारले रकम जम्मा गरिदिए एक हप्ताभित्रै उपचारका लागि सेन्टरको काम अन्तिम अवस्थामा पुगिसक्ने दावी गर्नुभयो । रकम निकासा नभएका कारण सेन्टरमा ट्रान्सफरमर र जेनेरेटर जडान गर्ने लगायतका कामहरू अपूरो छन् ।

केयर सेन्टरका लागि रोटरी क्लबले ३०, उद्योगपतिद्वय राजेन्द्र राउत र महेश जाजूले २०–२०, राउन्ड टेबलले २० र लायन्स क्लबले १० वटा शय्यासहित तिनका लागि आवश्यक सामग्री प्रदान गरेका छन्।
सेन्टरमा १ सय १० शय्या हुने र सबै शय्यामा पाइपलाइनबाट अक्सिजन पुर्‍याइने र पूर्ण वातानुकूलित हुने सेन्टरमा ४० टनको एअर कन्डिसनर लगाइँदैछ । सेन्टरमा शौचालय, स्नानघर, लुगा फेर्ने कोठा आदि तयार भइसकेको छ।

संघीय सरकारले कोशी अस्पताल विराटनगरका लागि कोभिड उपचार आईसोलेशन निर्माण गर्न ३ करोड १२ लाख रुपैँया निकासा गरेको छ । त्यो रकम समेत कोभिड उपचार केन्द्रमै खर्चने तयारी भईरहेको छ । २५ शैयाको एचडीयू निर्माणका लागि आएको रकम केयर सेन्टरमै आवश्यक सामाग्री प्रयोजनका लागि खर्चने तयारी भईरहेको कोशीका मेसु चुमनलाल दासले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग बिहीबार मात्रै कुरा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्