भत्ता दोब्बर

भत्ता दोब्बर

शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बढाएको छ । सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई रु एक हजारका दरले मासिक भत्ताको रकम उपलब्ध गराउँदै आएको थियो । भत्ताको रकममा वृद्धि गरी चालु आवमा रु दुई हजार पु¥याइएको छ ।

सामुदायिक वनको हालै सम्पन्न १९औँ साधारणसभाबाट अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई मासिक रुपमा प्रदान गरिँदै आएको भत्ताको रकम बढाउने निर्णय गरेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “सामुदायिक वनको राहत कोषबाट भत्ताको रकम पाउँदै आएका उपभोक्तालाई नवीकरण र सूचीकृत हुन सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “चालु आवदेखि २० देखि २५ जना सम्मलाई भत्ताको रकम उपलब्ध गराउने लक्ष्य छ” ।

सूचीकृत हुनका लागि मागिएको कागजपत्रको आधारमा भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष महराको भनाइ छ । भत्ता प्राप्त गर्नेमा ८० वर्षीय ज्येष्ठ नागरिकदेखि पाँच वर्षका बालबालिकासमेत रहेका छन् । दृष्टिविहीन श्रीराम जोशीले बिना झन्झट सामुदायिक वनले भत्ताको रकम उपलब्ध गराएर गुन लगाएको बताउनुभयो ।

“घरमै पुगेर मासिक रुपमा सामुदायिक वनका पदाधिकारीले भत्ताको रकम उपलब्ध गराउँदै आउनु भएको छ”, उहाँले भन्नुभयो, “भत्ताको रकम पाउँदा वर्षभरिको लुगाफाटो र औषधोपचारलाई आवश्यक खर्च चलेको छ ।” सामुदायिक वनले शुरुमा अपाङ्गता भएका र फरक क्षमता भएका उपभोक्तालाई रु तीन सय र त्यस पछि रु एक हजार र हाल भत्ताको रकम वृद्धि गरी रु दुई हजार पु¥याएको छ ।

सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपाङ्गता भएका र दृष्टीविहीनलाई भत्ताको रकम दिँदै आएको छ । आव २०७३÷७४ देखि सामुदायिक वनले अपाङ्गता भएकालाई राहत कोष खडा गरी भत्ता दिँदै आएको छ । कोषमा काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये पाँच प्रतिशत रकम राख्ने व्यवस्था गरिएको छ । विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५९६ उपभोक्ता रहेका छन । सामुदायिक वन २८८ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्