मोरङको धनपालथानको नमूना सहकारीले सर्वसाधारणको ८ करोड डुबायो

मोरङको धनपालथानको नमूना सहकारीले सर्वसाधारणको ८ करोड डुबायो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको आठ करोड रुपैँया हिनामिना गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । लामो समयदेखि संस्थाका पाँचजनाको मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिमामिना गरिएको स्थानीयले आरोप लगाएका हुन् ।

धनपालथान गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गुलाबचन्द मण्डल सहकारीका अध्यक्ष हुनुहुन्छ । यसैगरी धनपालधान–१ का अध्यक्ष जनकलाल चौधरी लेखा समिति संयोजक रहनु भएको सहकारीमा सर्वसाधारणको रकम हिनामिना गरिएको आरोप लागेको हो ।

सर्वसाधारणले आफुले बचत गरेको रकम फिर्ता लिनका लागि गत बैशाखदेखि पहल गरिरहेका छन् । तर, बारम्बार पैसा नभएको भन्दै सहकारीका अध्यक्ष , लेखा समिति संयोजक चौधरी, प्रवन्धक सलिम उद्दिन अन्सारी, लेखापाल सबिलाल राजबंशीले सर्वसाधारणलाई दवावसहित फिर्ता पठाउने गरेका हुन् । लेखा समिति संयोजक चौधरी सहकारीका पूर्व अध्यक्ष एवं १२ वर्षदेखिका संयोजक समेत हुनुहुन्छ ।

सर्वसाधारणको गुनासोपछि राजनीतिक दवाव समेत सिर्जना गरिएको थियो । बारम्बार स्थानीयले आफ्नो रकम फिर्ता लिन समेत नसकेपछि धनपालथान गाउँपाकिलाले नै यसको छानविनका लागि समिति गठन गरेको स्थानीय श्रवण रायले जानकारी दिनुभयो । धनपालथान गाउँपालिका–४ का वडा अध्यक्ष रोशन राजबशीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले २०६२ सालदेखि नै सहकारीले नियम अनुसार हिसाब किताब नराखेको त्रुटी फेला पारेको थियो । यसैगरी सहकारीको आन्तरिक आम्दानीमा समेत हिनामिना गरेको ठहर गरेको थियो । सहकारीले आफ्ना १२ वटा सटर भाडामा लगाएर वार्षिक ४ लाख र त्यस बाहेक ८ लाख रुपैँया आन्तरिक आय गर्दै आएको छ । तर, त्यसको समेत हिसाब नभेटिएपछि तत्काल कारवाहीका लागि सिफारिस गरिएपनि अहिलेसम्म कारवाही नगरिएको हो ।

यसैगरी छानविन समितिले गाउँपालिकाका अध्यक्षलाई बुझाएको प्रतिवेदनमा आर्थिक वर्ष २०७६-२०७७ र २०७७-२०७८ को अडिटमा त्रुटी रहेको, सहकारी धान खरिदमा अनियमितता गरेको जस्ता समस्या उल्लेख गरेको थियो ।
गाउँपालिकाले सहकारीमा अनियमितता गर्नेलाई संरक्षण गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाले बुधबार स्थानीयसहित गाउँपालिकामा प्रदर्शन गरेको थियो । गाउँपालिकाका सह–इन्चार्ज राजेन्द्र मण्डलका अनुसार तत्काल स्थानीयले अहिलेसम्म बचत गरेको रकम फिर्ता हुनुपर्ने एक सुत्रीय मागसहित सहकारीमा भ्रष्टचार गर्नेहरुलाई कारवाहीको माग राखिएको छ । नेकपा गाउँपालिका अध्यक्ष सुकदेव यादवसहितको टोलिले बुधबार ज्ञापनपत्र समेत बुझाएका छन् ।

सहकारीका अध्यक्ष मण्डलले लेखापालले बद्मासी गरेका कारण आफ्नो बद्नाम भएको दावी गर्नुभयो । लेखापालले राजीनामा गरेपछि मात्रै आफूले थाहा पाएको बताउँदै अध्यक्ष यादवले बरबुजरात समेत नगरिएको बताउनुभयो । उहाँले लेखापालमाथि छानविनका लागि राज्यका सबै निकायले ध्यान दिनुपर्ने माग गर्नुभयो ।

निक्षेपकर्ताको रकम जग्गा बिक्री गरेर भएपनि फिर्ता गर्छु, सहकारीका अध्यक्ष एवं धनपालधान गाउँपालिका–३ का अध्यक्ष समेत रहनु भएका मण्डलले भन्नुभयो–मैले बेइमानी गरेको छैन । तर, सर्वसाधारणले भने गएको निर्वाचनमा अध्यक्षले सहकारी पैसा खर्च गरेर चुनाव जितेको आरोप लगाएका छन् । उनीहरुले लेखापाललाई समेत उनैले राजीनामा गराएर सर्वसाधारणलाई ठग्ने कार्यबाट जोगिन खोृजेृको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्