लेकमा अलपत्र दुई जना सम्पर्कमा

लेकमा अलपत्र दुई जना सम्पर्कमा

तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह हुनुहुुन्छ ।
मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताउनुभयो । गत कात्तिक २९ गते जाजरकोटबाट हिँड्नुभएका सिंह र शाही ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेको जनाइएको छ ।

कात्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि चार फिट हिउँमा दुई दिन लगाएर मङ्सिर १ गते राति आफूहरु दुई जना जाजरकोट फर्केको सिंहले बताउनुभयो । उहाँहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरे पनि मङ्गलबार सम्पर्कमा आइसक्नुभएको प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिनुभयोे ।

अलपत्र परेको क्षेत्र चार हजार दुई सय मिटर उचाइ भएको जनाइएको छ । चार दिन उनीहरुले घरबाट ल्याइएको रोटी र अन्य खानेकुरा खाई ओढारमा बसेका थिए । भारी हिउँ अहिले पनि परिरहेको बताइएको छ । सम्पर्कमा आउनुभएका सिंहले भन्नुभयो, “कसरी बाँचेर आइयो, अहिले पनि डर लागिरहेको छ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्