यस पटकको छठ : आगनदेखि नदिसम्म (फोटो फिचर सहित)

यस पटकको छठ : आगनदेखि नदिसम्म (फोटो फिचर सहित)

प्रेम देवान
विराटनगर । कोरोना कहरका कारण यसपटकको छठ पर्वमा घरका आँगनमा खनिएको पोखरीदेखी नदिनालासम्म पुगेर सूर्यको उपसना गरिने तयारी गरिएको छ । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष तामझाम सुस्ताएको छ । छठको उत्साह समेत अघिल्ला वर्षको तुलनामा न्यून देखिएको हो ।

कोरोना महामारीका कारण सरकारले संक्रमणको जोखिम हुने भन्दै घरघरमै पोखरी बनाएर व्यक्तिगत ढंगले छठ पर्व मनाउन आग्रह गरेपछि ब्रतालुले घरका छतदेखी करेसाबारीमा अस्थायी पोखरी निर्माण गरेका छन् ।
विशेष गरी तराईमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व यस पटक कमैले मनाउने देखिएको छ । यसपटक नमाउनेले अर्को बर्ष एकै चोटी मनाउने तयारीमा रहेका छन् । कोरोना माहामारीका कारण यसपटक घरआँगनमा कृत्रिम पोखरी र नजिकै नदिनाला हुने ब्रतालुले नदिनालामै छठको पूजा गर्ने भएका हुन् ।

स्थानीय प्रशासनले नदिनाला तथा नहर पोखरीमा पण्डाल नटागी छठ पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले विराटनगर १२ र १३ हुँदै बग्ने नहरमा सर्वसाधारणलाई भीडभाड नगर्न र पाल नटाग्न आग्रह समेत गरेको छ ।
विराटनगर–१० संसारी माइस्थानका दिपक सिहले यस पटक घर छेउमा रहेको खाली जमिनमा सानो पोखरी खनेर छैठी माताको उपसना गर्ने योजना रहेको सुनाउनुभयो । कोरोना संक्रमणको जोखिम हुने भएको कारण पोखरी निर्माण गरेर स्थानिय २– ३ घर मिलेर छठ पर्व मनाउने तयारी गरिएको सिंहले सुनाउनुभयो । विगत ३० बर्ष भन्दादेखी पहिलेदेखी सिघिया खोलामा छठ पर्व मनाउदै आएको तर यसपटक भने घरमा नै छठ पर्व मनाउने तयारी गरिएको हो ।

‘सरकारले खोला तथा नहरबाट संक्रमण बढ्न सक्ने भएको कारण सुरक्षित हुन आव्हान गरेको कारण यस पटक घरमै छठ मनाउन लागिएको सिहले बताए । सिंह जस्तै कतिपयले घर आगानमा पोखरी बनाएका छन् भने कतिपयले घरका छतमा पनि कृक्रिम पोखरी बनाएका छन् ।
यता विराटनगरस्थित केशलिया खोला, सिंघीया खोला, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर तथा विभिन्न पोखरीहरुमा विगत वर्षमा जस्तो छठ मनाउने तयारी गरिएको छैन ।

यसपटक सुनसरी मोरङ सिचाई आयोजनाबाट बग्ने नहरमा पानी नछाड्ने निर्णय गरेको थियो । तर प्रदेश सरकारले धार्मिक आस्था बोकेका नागरिकको चाहना विपरित नहरको पानी बन्द गर्न नहुने भन्दै तत्काल पानी छोड्नका लागि आयोजनालाई आग्रह गरेसँगै गएरातीदेखी नहरमा पानी छाडिएको छ ।
पानी छाडिएसँगै नहर तथा खोला छेउका केही सर्वसाधरणले फाट्ट फुट्ट घाट निर्माण गरेर छठ मनाउने तयारीमा जुटेको देख्न सकिन्छ । छठ पर्वको आज तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै समापन गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्