विराटनगर–१७ मा प्रहरी र तस्करबीच झडप, स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर

विराटनगर–१७ मा प्रहरी र तस्करबीच झडप, स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१७ मटेर्वामा प्रहरी र तस्करको समुहबीच आइतबार बिहान झपड भएको छ । झपडका क्रममा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

तस्करी गरेको ल्याएको सामान जिल्ला प्रहरी कार्यालय, बाट खटिएको सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिने क्रममा १०÷१२ जनाको समुह प्रहरीमाथि जाईलागेको थियो । त्यस क्रममा प्रहरीले हवाई फायर गर्दै स्थितिलाई नियन्त्रणमा लिदैं एकजना व्यक्तिसहित एक बोरा सामान समेत नियन्त्रणमा लिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट समेत लागेको दावी गरिएको छ । भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान ल्याउने अरबिना खातुन खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर–१७ मटेर्वामा पुरानो घर भएपनि खातुन आफ्ना श्रीमान् आरिफ मियाँसहित परिवारसँग रानीको हड्तालि हाटमा बसोबास गर्दै आएकी छिन् । उनीसहितको समूह नै भारतबाट सामान भित्र्याउने धन्दामा पहिलेदेखि नै सक्रिय रहेको प्रहरीको दावी छ ।
तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण हुन थालेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नु हो, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–स्थिति नियन्त्रणका लागि फायर खोल्नु परेको थियो ।

भारतबाट तस्करी गरेर ल्याएको कम्मरमा लगाउने एक बोरा बेल्ट (पेटी) सहित पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान सुरु गरिएको छ । उनले दिएको सूचनाका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खड्काले नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई थालिएको दावी गरेका छन् । अवैध ओसारपसार र तस्करी नियन्त्रणमा लिन सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर ‘स्वीप अप्रेशन’ सञ्चालन गरिएको दावी गरिएपनि लाइन भने चलिरहेको जानकारहरु बताउँछन् ।
तस्करसँग जिल्लाको सादा पोशाकका प्रहरीको झडप हुँदा मटेर्वामा रहेको प्रहरीको टोलि भने बेखबर थियो । असई बासु कार्कीले मटेर्वाको नाकाको कमाण्ड सम्हालेका छन् । तर, मुख्य नाकाबाट नभई खेततर्फबाट सामान लिएर आउने क्रममा जिल्लाको टोलिसँग जम्काभेट भएको दावी गरिएको छ ।

नेपालबाट भारततिर मरिच, मटर, सुपारी लगायतको तस्करी हुँदै आएको छ । भारतबाट नेपालतिर लत्ताकपडा, तेल, चिनी लगायत दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको छ । प्रहरीले झापा, मोरङ र सुनसरीबाट संस्थागत रुपमा लाइन खुलाएको आरोप लाग्दै आएको छ ।
प्रदेश प्रहरी कार्यालय समेत रहेका कारण मोरङका नाकाबाट बढी तस्करी हुने गरेको समेत जानकारहरु बताउँछन् । लाइन चलाउन दशैं अगाडीदेखि कै योजना रहेपनि केन्द्रको अनुसन्धान टोलि प्रदेश प्रहरी कार्यालयमा आएर बसेपछि पछिल्लो समय लाइन खुलेको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्