विराटनगर । मोरङ–सुनसरीका खाद्यतेल उद्योगले भटमासको तेलको निर्यातमा वृद्धि गरेका छन् । भारतले ८ महिनाअघि नेपालबाट हुने पाम तेल निकासी रोकेपछि उद्योगीले भटमासको तेल निकासी बढाएका हुन् ।
नेपालबाट वार्षिक २६ अर्बको हाराहारीमा निकासी भइरहेको पाम तेललाई भारतले गत वैशाख २९ गते रोक लगाएको थियो । भारतको डाइरोक्टोरेट जेनरल अफ फरेन ट्रेड (डिजीएफटी) अर्थात् वैदेशिक व्यापार महानिर्देशनालयले सूचना प्रकाशित गर्दै नेपाल र बङ्गलादेशबाट पैठारी गरिने पाम तेलमा रोक लगाइएको थियो ।
नेपालका उद्योगले साफ्टा सम्झौताअन्तर्गत आर्थिक वर्ष २०७४–०७५ देखि भारततर्फ पाम तेलको निकासी गर्दै आएका थिए । साफ्टा सम्झौताअन्तर्गत पाम तेल निकासी गर्दा भन्सार महसुल शून्य प्रतिशत लाग्थ्यो भने भारतमा जिएसटीको १२ प्रतिशत रकम बुझाउनु पथ्र्यो । उक्त रकम भारतीय क्रेताले नै बुझाउने हुँदा नेपाली निर्यातकर्ता दस्तुर र महसुलबाट मुक्त थिए ।
साफ्टा सम्झौताअन्तर्गत भारतमा पाम तेल निकासी गर्न सकिने पत्ता लगाएपछि सबैभन्दा पहिले केएल दुगडको सुनसरी जिल्लास्थित स्वस्तिक आयलले निर्यात सुरु गरेको थियो । यसपछि मोरङ–सुनसरीका अन्य ४ उद्योगले पनि पाम तेलको निकासी गर्न थाले । जसमा सुरेश राठीको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, विपिन काबराको क्वालिटी रिफाइनरी र शारडा समूहको पशुपति खाद्यतेल उद्योग छन् ।
विराटनगर नाकाबाट आर्थिक वर्ष २०७५–७६ मा ४ अर्ब ५० करोड ३४ लाख मूल्यको ४१ हजार ३ सय ५७ मेट्रिक टन र आव २०७६–७७ मा ६ अर्ब ७६ करोड ३ लाख मूल्यको ६१ हजार १ सय ४० मेट्रिक टन पाम तेल भारत निकासी गरिएको छ । चालु आर्थिक वर्षमा भने पाम तेलको निकासी शून्य छ ।
पाम तेलको निकासीमा भारतले कडाइका साथ रोक लगाएपछि उद्योगीले अहिले भटमासको तेलको निर्यातलाई बढाएका हुन् । विराटनगर नाकाबाट पाम तेल निकासी गर्नेमा ५ उद्योग थिए भने भटमासको तेल निर्यात गर्नेमा देवकीनन्दन अग्रवालको वाग्मती आयल पनि थपिएको छ । यसप्रकार विराटनगर नाकाबाट ६ वटा उद्योगले भटमासको तेल निकासी गरिरहेका छन् ।
भटमासको तेल पनि साफ्टा सम्झौताअन्तर्गत नै निकासी गरिने हुँदा भन्सार महसुल शून्य छ । भारतीय क्रेताले भने आयात गर्दा १२ प्रतिशत जिएसटी त्यसतर्फको भन्सारमा बुझाउनु पर्छ । नेपाली निर्यातकर्तालाई भटमासको तेल निकासीमा पनि कुनै प्रकारको दस्तुर र महसुल छैन ।
विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–७६ मा मोरङ–सुनसरीका ६ वटा उद्योगले उक्त नाकाबाट ८४ करोड ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ मेट्रिक टन भटमासको तेल भारततर्फ निकासी गरेका थिए । आर्थिक वर्ष २०७६–०७७ मा आइपुग्दा निकासी करिब ४ गुणाले बढ्यो । उक्त आवमा ४ अर्ब २९ करोड ४९ लाख मूल्यको ३१ हजार ६ सय ३५ मेट्रिक टन भटमासको तेल विराटनगरबाट निकासी गरियो ।
चालु आवमा भटमासको तेलको निकासीको आकार अझ बढेको छ । चालु आवको कात्तिक मसान्तसम्मको तथ्याङ्क अध्ययन गर्दा यस आवमा ७ अर्ब बराबरको भटमासको तेल विराटनगर नाकाबाट निकासी हुनसक्ने देखिएको छ । चालु आवको प्रथम चौमासिक अवधिमा यस नाकाबाट २ अर्ब २३ अर्ब बराबरको १५ हजार ९ सय ५ मेट्रिक टन भटमासको तेल निकासी भइसकेको छ । यहि अवस्था रहेमा चालु आवमा विराटनगर नाकाबाट मात्र ४८ देखि ५० हजार मेट्रिक टन भटमासको तेल निकासी हुनसक्ने बताएका छन् ।
तर, भटमासको तेलको निर्यातबाट उद्योगले ब्रिदिङ स्पेसमात्र पाएको उद्योगीको प्रतिक्रिया छ । पाम तेलको निकासीमा भएको मार्जिन भटमासको तेलमा नभएको उद्योग सङ्गठन मोरङका उपाध्यक्ष एवम् श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाले दावी गर्नुभयो । भटमासको तेल निर्यात त उद्योग बचाउने एउटा अनिवार्य आवश्यकतामात्र भएको उद्योगी मुरारकाको भनाई छ ।
उद्योगी मुरारकाका अनुसार पाम तेलको कच्चा पदार्थ मलेसियाबाट पैठारी गरिन्छ । मलेसियाबाट सिपमेन्ट भएको २ हप्तामा उद्योग परिसरमा कच्चा पाम तेल आइपुग्छ । तर भटमासको तेलको कच्चा पदार्थ ब्राजिल र अजेन्टिनाबाट ल्याउनु पर्छ । त्यहाँबाट सिमपेन्ट भएको ३ महिनामा मात्र कच्चा भटमासको तेल आइपुग्छ । तीन महिनाको अवधिमा डलरको भाउमा उतारचढाव आएर उद्योगले घाटा ब्यहोर्नु पर्छ । ठूलो जोखिम मोलेर भटमासको तेलको कच्चा पदार्थ ल्याउनु पर्ने बाध्यता रहेको उद्योगीहरु बताउँछन् ।
उद्योग सङ्गठनका कार्यकारी सदस्य एवम् क्वालिटी रिफाइनरीका सञ्चालक विपिन काबराका अनुसार भारतमा खाद्य पदार्थका उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्ने भएकाले त्यहाँ पाम तेलको ठूलो खपत छ । त्यहाँ पाम तेलको औद्योगिक खपत भएकाले बढी उपभोग भएको हो ।
भारतका भुजिया, दालमोठ, कुरमुरे, चिप्स, चिज बल्स, बिस्कुट, बेकरी आदिका उद्योगले रिफाइन्ड पाम तेल नै प्रयोग गर्छन् । त्यस्तै होटलमा पकाइने कचौरी, समोसा, पकौडा र विभिन्न प्रकारका तारेका खानेकुरामा पनि पाम तेलकै प्रयोग गरिन्छ । त्यसैले खपत बढी भएको हो । पाम तेलमा पकाइएको खाद्य पदार्थ क्रिस्पी (कुरुमकुरुम) हुने र धेरै दिनसम्म नबिग्रने हुँदा उद्योगहरूले यसैलाई प्रयोग गरेका हुन् ।
पाम तेलमा स्टेरिन र ओलिन गरी दुई प्रकारका तत्त्व हुन्छन् । खानेतेलमा स्टेरिन निकालिन्छ र ओलिन मात्र राखिन्छ । त्यसैले खाने पाम तेललाई पामोलिन भनिएको हो । पामोलिन १७ देखि १८ डिग्री सेल्सियसमा जम्छ । त्यस्तै ओलिन निकालिएको स्टेरिनयुक्त पाम तेल ३६ डिग्री सेल्सियस तापक्रममा जम्छ । स्टेरिनयुक्त पाम तेल सस्तो हुन्छ र यो तेल धेरैजसो साबुनका उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्छन् ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले भारतले नेपालबाट त्यसतर्फ गरिने पाम तेलको निकासीमा रोक लगाएपछि नेपालमा १० अर्बभन्दा बढीको कच्चा पाम तेल अलपत्र परिरहेको जानकारी दिनुभयो ।