मोरङमा खुलेआम् तस्करी, ‘सेटिङ’ पोल खुलेपछि प्रहरी भित्र हल्लीखल्ली

मोरङमा खुलेआम् तस्करी, ‘सेटिङ’ पोल खुलेपछि प्रहरी भित्र हल्लीखल्ली

विराटनगर । तस्करसँग प्रहरीको ‘सेटिङ’ मा भारतबाट अवैध सामान नेपाल भित्रने गरेको विषय सार्वजानिक भएपछि मोरङ प्रहरीमा अहिले हल्लीखल्ली सुरु भएको छ । सीमानाकाबाट अवैध रुपमा सामान भित्र्याउन अग्रिम रमक लिइएको विषय एकाएक बाहिरीएपछि प्रहरीलाई सामाजिक दवाव बढ्दै गएको हो ।

पछिल्लो पटक सञ्चारमाध्यममा प्रहरीसँगकै सेटिङमा तस्करी हुने गरेको विषय बाहिरीएपछि मोरङ प्रहरीले सादा पोशाकका प्रहरीलाई सीमा केन्द्रीत गरेर झोलेपोकेमाथि निगरानी बढाएको हो । तर, संस्थागत लाइन चलाउने ठूला कारोबारीको विषय भने जिल्लाले मात्रै नियन्त्रण गर्न नसक्ने भएपछि त्यसको छुट्टै दवाव झेल्नु पर्ने अवस्था परेको छ ।
प्रहरीले मंगलबार राती मोरङ धनपालथान गाउँपालिका ३ नयाँ टोल बस्ने सिताराम सिहंको घर नविकै ग्वाली टहरामा भारतबाट नेपालतर्फ अबैध रुपमा भित्र्याइएको आलु, प्याज र लसुन बरामद गरेको छ ।

एक लाख ४५ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले भारतबाट अवैध ल्याएर लुकाएको अवस्थामा बरामद गरेको दावी गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आलु २१ बोरा (१०५० के.जि.), प्याज ७ बोरा (३५० के.जी), र लसुन ३ बोरा (१५० के.जी.) बरामद गरेर आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने तयारी गरेको हो ।

मोरङका पूर्व दक्षिण सीमान्त क्षेत्रमा पर्ने नाकाहरूसँगै विराटनगर, बुधनगरबाट पनि अनधिकृत निकासी–पैठारी भने भईरहेको छ । तस्करीमा बृद्धि भएसँगै तस्करी हुने माल वस्तुको मूल्यमा पनि थपघट हुने क्रम जारी रहेको छ । विराटनगरका व्यापारीले पछिल्लो समय तस्करी मौलाएकाले त्यसको अवसर व्यापारमा परेको गुनासो गर्दै आएका छन् ।
प्रहरी–प्रशासनको मौन स्वीकृतिमा तस्करहरूले मोरङका छोटी नाकाहरूबाट तस्करीको लाइन खोलेसँगै तस्करी गरेर नेपाल ल्याउने वस्तुको मूल्य घटेको र तस्करी गरेर भारत पठाउने वस्तुको मूल्यवृद्धि भएको हो। लाइनका चलाउनका लागि प्रहरीका सादा पोशाकमा हिड्नेहरु रकम बुझिेसकेका छन् । रकम बुझाएर लाइन खोलिएपछि बन्द गर्न खोज्दा सीमा क्षेत्रमा प्रहरीसँग बारम्बार झडप हुने क्रम समेत बढेको छ । कतिपय सादा पोशाकका प्रहरीलाई रकम असुल्ने ‘टार्गेट’ नै दिएर खटाइएको समेत स्रोतले बताएको छ ।


विराटनगर रानीका मुन्ना सुपारीले जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरीलाई १२ लाख रुपैँया लाइन चलाउनै दिएको विषय तिहार अगाडी नै बाहिरीएको थियो । लाइन चलाउन रकम दिएपछि प्रहरीको केन्द्रीय टोलि विराटनगरमा आएर बसेपछि कडाई गरिएको थियो । प्रहरीले कडाई गरिएपछि लाइन चलाउनेहरुले प्रहरीलाई रकम दिएपनि सामान ल्याउन नदिएको आक्रोश पोख्दै हिडेका थिए ।
केन्द्रको टोलि त्यसै बेला आएर बसेपछि पूर्वका तीन जिल्लामा प्रहरीलाई दवाव परेको थियो । त्यसबेला प्रदेश १ प्रहरी कार्यालयले आचरण विपरित कार्य गर्नेहरुको छानविन गर्न भन्दै समिति समेत गठन ग¥यो । समितिले काम नसक्दै झापा, मोरङ र सुनसरीका सादा पोशाकमा खटिएका प्रहरी विरुद्ध बेनामे उजुरीका चाङ लागेको थियो । त्यसका सबैभन्दा बढी झापामा कार्यरत सादा पोशाकका प्रहरी विरुद्ध उजुरी परेको स्रोतले बताएको छ । बेनामे उजुरी दैनिक पर्नुमा प्रहरी भित्रैका व्यक्तिहरुको हात रहेको दावी गरिन्छ ।
व्यापारीहरुका अनुसार तस्करी बढेकै कारण भदौ महिनामा प्रति किलोग्राम ७० देखि ८० रुपैयाँ पर्ने हरियोकेराउको मूल्य अहिले १ सय २५ रुपैयाँ पुगेको व्यापारीहरुको भनाई छ। त्यस्तै प्रति किलोग्राम ४ सय ५० रुपैयाँमा पाइने मरिचको मूल्य ५ सय ३० रुपैयाँ भएको छ।
‘छोकडाको मूल्य प्रति किलोग्राम ७५ देखि ८० रुपैयाँ रहेकोमा अहिलेको मूल्य प्रति किलोग्राम १ सय १० रुपैयाँ पुगेको छ । त्यस्तै गुट्खामा प्रयोग गरिने नराम्रो सुपारीको मूल्य प्रति किलोग्राम २ सय ५० बाट ४ सय र पानमा हालिने वा त्यत्तिकै चपाइने राम्रो खालको सुपारीको मूल्य प्रति किलोग्राम ३ सय ५० बाट ५ सय रुपैयाँ पुगेको छ।


प्रहरीलाई पनि लाइन मिलाउनेहरुबाटै सुचना लिक भएको आशंका छ । विराटनगरमा बसेर विभिन्न नाकाबाट मटर, छोकडा तथा मरिच भारत कटाउँदै आएका सुमन साह अहिले प्रहरीको दोहोरो हेराईमा परेका छन् । उनले प्रहरीलाई लाइन खोल्नका लागि रकम पनि पठाउने र पैसा दिएको विषय सार्वजानिक समेत गर्ने गरेको भन्दै प्रहरी भित्रै चर्चा चुलिएको छ ।
सीमा क्षेत्रबाट लाइन खुल्यो भने सीमा क्षेत्रको नेपाली बजारमा तस्करी हुने वस्तुको मूल्य बढ्ने गरेको छ । लाइन बन्द भएको अवस्था मूल्य घट्ने गरेको छ । भारत निकासी गर्नुपर्ने वस्तु नेपाली बजारमै सिमित राख्नुपर्ने अवस्था आए व्यापारीले ‘फोर्स सेल’ विधि अपनाउने गरेका हुन् ।
मोरङको पूर्व–दक्षिण सीमान्त क्षेत्रमा पर्ने सुनवर्षी नगरपालिकाको सिक्टी र बडरंगा नाका, रतुवामाई नगरपालिकाको महादेव नाका, रङ्गेली नगरपालिको चेतरा र धनपालथान गाउँपालिकाको मायागन्ज नाका अहिले तस्करीका मुख्य द्वार भएका छन्। यी क्षेत्रमा प्रहरी बाहेक अन्य व्यक्तिले पुगेर चासो राख्न सक्दैनन् ।
यिनै नाका भएर नेपालबाट तस्करहरूले मरीच, केराउ, सुपारी र छोकडाको अवैध निकासी गरिरहेका छन्। त्यस्तै पारिबाट खाने तेल, रजनीगन्धा र तुलसी जर्दा, पास्ता, बिस्कुट र चिनी लगायतका खाद्य र किराना सामग्रीको अवैध पैठारी भइरहेको छ।
तस्करहरुले रातिको ११ देखि बिहान ३ बजेसम्मलाई तस्करी धन्दाको मुख्य समय बनाएका छन्। भारतबाट नेपाल भित्र्याउने वस्तुको नेपालमा मूल्य घट्छ भने नेपालबाट भारत निकासी हुने वस्तुको नेपालमा मूल्य बढ्छ । चैतको लकडाउनपछि भदौ महिनासम्म पास्ताको उत्पादन र विक्री दुवै राम्रो भएको नेपाली बजारमा अहिले यसको मूल्य ह्वात्तै घटेको छ । असोजलागेपछि तस्करी बढेसँगै उत्पादन २० प्रतिशतले खस्किएको छ। त्यस्तै प्रति किलोग्राम १ सय ५ रुपैयाँ पुगिसकेको पास्ताको मूल्य अहिले ८० रुपैयाँमा झरेको छ।

तस्करी कति बढेको छ भने अहिले त्यहाँका पसलमा ‘दावत’ लगायतका भारतीय ब्रान्डका तोरीका तेल सजिलै देख्न पाइन्छ । यस अगाडी चैतदेखि भदौसम्म भारतीय बजारका उत्पादनहरु विराटनगरका बजारमा थिएनन् ।
यही मङ्सिर ७ गते आइतबार विराटनगर महानगरसित जोडिएको मटेरुवा नाकामा बिहान ४ बजे प्रहरीले तस्करको समूहलाई लक्षित गर्दै हवाई फायर समेत गरेको थियो। त्यस विषयमा समेत लाइन चलाउनेहरुले प्रहरीमाथि नै प्रश्न ते¥याएका छन् । यस्तै विराटनगर–१३ का नरेश यादवको घरबाट अवैध औषधी बरामद गरेपछि प्रहरीलाई नै यादवले उल्टै हप्काएका थिए । सीआरभी जतुवाका असईको रामकुमार यादवको टोलिले नरेशको घरबाट औषधी बरामद गरेको थियो । औषधी बरामद गरेर फर्केपछि नरेशले असई रामकुमारलाई गाली गरेपछि प्रहरीले नै जिल्ला प्रहरीमा नरेश विरुद्ध उजुरी समेत दिएका छन् ।

स्रोतका अनुसार मटेरुवा नाकामा प्रहरीले हवाई फायर गर्नुको उद्देश्य आफू तस्करीविरुद्ध रहेको प्रोपोगन्डा फैलाउन मात्र हो भन्नेहरु समेत रहेका छन्। अवैध निकासी र पैठारी गर्नेहरूले ट्याक्टर, मोटरसाइकल र साइकलको प्रयोग गरेर ओसार–पसार गरिरहेका छन् । यस विषयमा केहिदिन अगाडी मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्कासँग बुझ्दा लाइन चलाउन प्रहरीले कुनै लाभ नलिएको दावी गर्नुभयो । प्रदेश नम्बर १ को प्रहरी कार्यालयका डिआइजी ईश्वरबाबु कार्कीले सीमा क्षेत्रमा अत्यन्त कडाइ गरिएको र नेपाल प्रहरीले मात्रै तस्करी नियन्त्रण गर्न नसक्ने दावी गर्नुभयो ।

उहाँले कसैले केहि गरेको सुचना आए मात्रै तत्काल कारवाही गर्ने बताउँदै प्रहरीको सक्रियताकै कारण गतवर्ष भन्सारमा बुझाए बराबरको सामान यसवर्षको पहिलो चौमासिकमै बुझाई सकिएको जिकीर गर्नुभयो ।
डिआईजी कार्कीले मोरङ र झापाका सीमा क्षेत्रका प्रहरी यूनिटका प्रमुख तथा सहायकको भेला गराएर तिहार अगाडी कडा निर्देशन दिएको सुचना प्रदेश प्रहरी कार्यालयबाटै प्राप्त भएको थियो । त्यसलाई सञ्चारमाध्यमले प्राथमिकतामा साथ स्थान दिएपनि अवैध तस्करीको धन्दा भने संस्थागत रुपमै भईरहेको दावी गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्