विराटनगरका उद्योगी र अर्थमन्त्रीबीच भेटघाट, विदेशमा लगानी अवसर दिन माग

विराटनगरका उद्योगी र अर्थमन्त्रीबीच भेटघाट, विदेशमा लगानी अवसर दिन माग

विराटनगर। विराटनगरका उद्योगी–व्यवसायी र अर्थमन्त्रीबीच काठमाण्डौंमा भेटघाट भएको छ । उद्योगी व्यवसायीले नेपालका लगानीकर्तालाई विदेशमा लगानी गर्न पाउने कानुनको निर्माणका लागि अर्थमन्त्रीसँग भेटमा आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा भाग लिन काठमाडौं पुगेका मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई अर्थ मन्त्रालयमा भेट गरेका हुन् ।

उनीहरुले विदेशमा लगानी गर्न पाउने कानुन निर्माणका लागि अनुरोध गरेका हुन्। विदेशी लगानी ल्याउन हुने अवस्थामा नेपालीले पनि विदेशमा व्यवसाय गर्न पाउनुपर्ने जिकिर उनीहरूले गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेउवा महासंघको साधारण सभाको उद्घाटनमा नेपालका लगानीकर्तालाई विदेशमा लगानी गर्न नजान आग्रह गरेका थिए। त्यसको भोलिपल्टै मोरङका व्यवसायीले सरकारसमक्ष विदेशमा लगानी गर्ने वातावरणको निर्माण गरिदिन माग गरेका हुन्।

मन्त्री पौडेलसित उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल तथा व्यापार संघका दुई पूर्व अध्यक्ष पवन शारडा र महेश जाजूले शुक्रबार भेटेका हुन्। ‘हामीले नेपाल र नेपालीको शिर ठाडो पार्ने हो भने विदेशमा लगानी लैजान पाउनु पर्छ भन्ने अनुरोध गरेका हौं, संघका पूर्व अध्यक्ष महेश जाजूले भन्नुभयो–नेपालका लगानीकर्ता विदेशमा लगानी गर्न सक्षम भइसकेको जानकारी गराएका छौं । विदेशमा लगानी गरे पनि त्यसको प्रतिफल स्वदेशमै ल्याउने भन्दै अर्थमन्त्रीलाई आवश्वस्त तुल्याउन खोजिएको थियो ।

व्यापार संघका अर्का पूर्व अध्यक्ष पवन शारडाले सरकारले बजेटमा एन्टी डम्पिङ ड्युटीको कानुन निर्माण गरी कार्यान्वयन ल्याउने घोषणा गरे पनि हालसम्म उक्त घोषणा पूरा नभएको गुनासो गर्नु भएको थियो । तुरुन्त कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याई स्वदेशी उद्योगलाई संरक्षण गर्न माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्