नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विराटनगरका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो ।

योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व गर्नुहुनेछ ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गर्नु भएको थियो । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत पाउनुभयो । ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत पाउनु भएको हो ।

ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत ल्याउनुभयो । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सफल हुनुभयो ।

शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी हुनु भएको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुरु भएको वाणिक मण्डलदेखि २००८–०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघले पनि अहिलेको महासंघले जस्तै व्यापार र व्यापारीको हकहितमा काम गरेको थियो ।
वि.सं. २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भयो । त्यसैको विकास हुँदै वि. सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा महासंघको स्थापना भएको थियो ।

उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि महासंघको अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठलाई दिइएको थियो । त्यसपछि निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् । १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्