तस्करी मौलाउँदा लक्ष्य घटेको भन्सार राजश्व समेत असुली प्रभावित

तस्करी मौलाउँदा लक्ष्य घटेको भन्सार राजश्व समेत असुली प्रभावित

विराटनगर । कोरोना सन्त्रासका कारण सीमानाका बन्द भएपनि सेटिङमा तस्करी चलेका कारण विराटनगर भन्सार कार्यालय रानीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन । सीमा क्षेत्रबाट हुने संस्थागत तस्करी नियन्त्रण गर्न नसक्दा भन्सार राजश्व समेत प्रभावित बनेको हो ।

अवैध पैठारीको प्रोत्साहनमा भन्सार कार्यालयका कर्मचारीको समेत मिलेमतो रहेको दावी गरिदैं आएको छ । कोभिड कहरका कारण गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा विराटनगर भन्सारमा राजस्व सङ्कलनको लक्ष्य घटेर आउँदा पनि पूरा हुने नदेखिएको हो ।
राजस्व असुलीको लक्ष्य घट्दा पनि चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा विराटनगर भन्सारले लक्ष्य पूरा गर्न सकेको छैन । कार्यालयलाई गत आवको साउनदेखि कात्तिक मसान्तसम्मका अवधिमा १७ अर्ब ८४ करोड २७ लाखको लक्ष्य दिइएको थियो । जसमा १० अर्ब ७ करोड ६१ लाख असुल गरी ६० प्रतिशत प्रगति हासिल गरेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिको लक्ष्य गत आवको भन्दा ४ अर्बले कम १३ अर्ब ६७ करोड ४ लाख रुपैयाँ छ । तर कार्यालयले ११ अर्ब १९ करोड ५८ लाख सङ्कलन गरी ८२ प्रतिशत प्रगति भेट्टाएको छ ।
कोभिड–कहरका कारण पैठारी कम हुने तथ्यलाई दृष्टिगत गर्दै भन्सार विभागले विराटनगर लगायतका सबै भन्सार कार्यालयलाई चालु आवमा गत आवको भन्दा कम लक्ष्य तोकेको छ । जसअनुसार विराटनगरलाई गत आवको वार्षिक लक्ष्य ४९ अर्ब ६४ करोड ६० लाख थियो भने चालु आवको लक्ष्य ४६ अर्ब १४ करोड ९५ लाख छ ।

कार्यालयले चालु आवको कात्तिक मसान्त सम्ममा भन्सार महसुलतर्फ ५ अर्ब २८ करोड ६७ लाखको लक्ष्यमा ४ अर्ब ३४ करोड १२ लाख, मूअकरको ७ अर्ब ९ करोड ७३ लाखको लक्ष्यमा ५ अर्ब १७ करोड २५ लाख र अन्तःशुल्कको ८७ करोड ६७ लाखको लक्ष्यमा ७३ करोड ७६ लाख असुली गरेको छ ।
चार महिनाका अवधिमा विराटनगर भन्सारलाई सबैभन्दा बढी राजस्व दिने वस्तु पेट्रोल भएको छ । पेट्रोलले १ अर्ब २२ करोड ८४ लाख रुपैयाँ राजस्व दिएको छ । यसपछि दोस्रोमा मोटर साइकलले १ अर्ब ४ करोड ८३ लाख, तेस्रोमा तयारी कपडाले ५७ करोड ५ लाख र चौथोमा फलामे डन्डीको कच्चा पदार्थ एमएस बिलेटले ४७ करोड ९४ लाख रुपैयाँ राजस्व प्रदान गरेका छन् ।
त्यस्तै प्लास्टिक दाना, फलामे क्वाइल, सूर्यमुखीको कच्चा तेल, कर्कट पाताको कच्चा सामग्री सीआर सिट, प्लास्टिक सिट र भटमासको कच्चा तेल पनि राजस्व दिने मुख्य वस्तुमा परेका छन् ।

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष बिजेन्द्र पारासरले भन्सारको राजस्वमा उल्लेखनीय योगदान गरिरहेका ४ मुख्य वस्तुको पैठारीमा सरकारले रोक लगाएपछि विराटनगर भन्सारकोे सङ्कलन प्रभावित भएको प्रतिक्रिया दिए ।
सरकारले गत चैत १६ सम्म प्रतीत पत्र खोलिएका सुपाडी, मरिच, छोकडा र केराउलाई मात्र पैठारी गर्न दिने निर्णय गरेको थियो । चार वटै वस्तुले विराटनगर भन्सारको राजस्व सङ्कलनलाई उल्लेखनीय योगदान गर्दै आएको अध्यक्ष पारासरको दाबी छ ।

‘कोभिडको कहरका कारण उद्योगहरू कम क्षमतामा चलिरहेका छन् र विराटनगर नाका भनेको कच्चा पदार्थ पैठारीको नाका हो’, बिजेन्द्रले भने, ‘उद्योगहरू कम क्षमतामा चलेका कारणले औद्योगिक कच्चा पदार्थको पैठारीमा पनि ह्रास आएको छ । त्यस्तै विराटनगर भन्सारलाई राम्रो राजस्व दिइरहेको हाइ स्पिड डिजल पाइपलाइनबाट आउन थालेपछि यसले पनि समग्र लक्ष्यमा असर पुर्याएको छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्