तीन महिनामै लिटरको २५ रुपैँयाले बढ्यो खाने तेलको मूल्य

तीन महिनामै लिटरको २५ रुपैँयाले बढ्यो खाने तेलको मूल्य

विराटनगर । भान्सामा प्रयोग हुने खानेतेलको मूल्य निरन्तर बृद्धि भईरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा लिटरमै २५ रुपैयाँसम्म तेलको मूल्य बढेको हो। उत्पादकहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएको दावीसहित तोरी, सूर्यमुखी र भटमासको गरी तीन प्रकारकै तेलको मूल्य बढाएका हुन्।

तीन महिना अघि सनफ्लावर तेलको कारखाना मूल्य प्रति लिटर १६० देखि ६५ रुपैयाँ भएकोमा अहिले दुई सय रुपैयाँ पुगेको छ। ब्राण्डका आधारमा केही सनफ्लावर तेलको मूल्य २ सय समेत नाघिसकेको छ। त्यस्तै प्रति लिटर १ सय ५० देखि ५५ मा पाइने भटमासको तेलको कारखाना मूल्य १ सय ८० पुगेको छ। तोरीको तेलको मूल्यमा पनि त्यस्तै उछाल आएको छ। तीन महिना अघिसम्म तोरीको तेलको कारखाना मूल्य प्रति लिटर १ सय ७५ देखि १ सय ८५ रुपैयाँसम्म थियो। हालको मूल्य १ सय ९५ देखि २ सय ५ सम्म छ। कुनै ब्राण्डको खुद्रा मूल्य २ सय ४० रुपैयाँ नाघिसकेको छ।

नेपालमा सबैभन्दा बढी तोरी क्यानाडाबाट आयात गरिन्छ। त्यसपछि अस्ट्रेलियाबाट हुन्छ। तर अस्ट्रेलियाको तोरी प्रति टन १५–२० डलर महँगो पर्ने हुँदा उद्योगीहरू क्यानाडाकै तोरी प्रयोग गर्छन्। क्यानाडामा तीन महिना अघि तोरीको मूल्य प्रति टन ५ सय २० देखि ५ सय ३० डलर रहेकोमा अहिले ६ सय ३० देखि ६ सय ३५ डलर पुगेपछि नेपालमा तेलको मूल्य बृद्धि गर्नुपर्ने अवस्था आएको हो ।
नेपालका तेल उद्योगले तेलमा राग ल्याउन भारतीय तोरीको प्रयोग गर्छन्। भारतीय तोरीमात्र प्रयोग गरेर कसैले तेल उत्पादन गर्दैनन्। भारतीय तोरीको तेल महँगो पर्छ। भारतीय तोरी २० देखि ५० प्रतिशतसम्म मिसाइन्छ। जति बढी भारतीय तोरीको प्रयोग गरियो तोरीको तेलको मूल्य पनि त्यही अनुपातमा वृद्धि हुँदै जान्छ।

गत वर्ष यही बेला भारतमा तोरीको मूल्य किलोको भारु ४० थियो। लकडाउन सुरु भएपछि सरकारले किसानसँग भएको तोरीको समर्थन मूल्य किलोको ४५ रुपैयाँ तोकिदियो। सरकारले समर्थन मूल्यमात्र तोकेन, किसानसँग भएको सबैजसो तोरी भारत सरकारले नै खरिद गर्‍यो।

घरेलु तेलका निर्माता श्याम एग्रोका सञ्चालक राजु राठीका अनुसार ‘उत्पादनमा पनि ह्रास आयो। त्यस्तै तीन महिनायता सिपिङ कम्पनी र भारतका ढुवानी व्यवसायीले भाडादरमा तीन गुनासम्म वृद्धि गरेका छन्। यसका कारण तोरीको तेलको उत्पादन खर्च नै आकासिएको छ। तेलको मूल्य बढ्ने कारण यही हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्