समुन्द्री मार्गको भाडादर तीनगुणाले बढ्यो, औद्योगिक उत्पादनको मूल्य बढ्न सक्ने

समुन्द्री मार्गको भाडादर तीनगुणाले बढ्यो, औद्योगिक उत्पादनको मूल्य बढ्न सक्ने

विराटनगर । समुन्द्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले तीन गुणासम्म भाडादर बृद्धि गरेपछि त्यसको असर नेपालको औद्योगिक कच्चा आयातमा परेको छ । समुन्द्री मार्ग हुँदै ढुवानी हुने औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्यमा निक्कै ठूलो असर देखिने भएको हो ।

उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष रमेश राठीका अनुसार अहिले मालवस्तु पैठारी गर्दा भाडादर अत्याधिक बुझाउनु पर्ने अवस्था आएको हो । पानीजहाज, कन्टेनर र ढुवानीकर्मी कोभिड १९ का कारण अभाव भएपछि सिपिङ एजेन्सीहरूले भाडादरमा वृद्धि गरेको राठीको बुझाई छ । चीनबाट कोलकाता बन्दरगाहमा २० फिटे कन्टेनरमा मालवस्तु ल्याएको भाडादर २ महिनाअघि सम्म ८ सय देखि ९ सय डलर भएकोमा अहिले २७ सय डलर पुगिसकेको राठीले दावी गर्नुभयो ।

चीनको निम्बोबाट कोलकाता बन्दरगाहसम्म आउने कन्टेनरलाई २ महिनाअघिसम्म २ हजार २ सय डलर भाडा तिर्नुपथ्र्यो। अहिले ६ हजार डलर भएको छ।त्यस्तै थाईल्यान्डबाट कोलकाता बन्दरगाहसम्म आउने कन्टेनरको भाडादर पनि ८ सयबाट २ हजार ५०० डलर पुगेको हुलास वायर इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मुकेश कोठारीको दावी छ ।

सिङ्गापुर र मलेसियाबाट कोलकाता बन्दरगाहसम्म प्रति टन १ सय डलर भाडा तिरेर कच्चा सामग्री आउनेमा अहिले प्रति टन ३ सय डलर भएको हो । मोरङ व्यापार सङ्घका उपाध्यक्ष अनुपम राठीका अनुसार कोभिड कहरपछि भारतबाट हुने निकासीमा ह्रास आउँदा भारतका विभिन्न बन्दरगाहमा खाली कन्टेनर ठूलो मात्रामा थन्किएर बसेका छन्।

त्यस्तै कतिपय स्थानमा जहाज र जहाजका कामदारलाई क्वारेन्टाइनमा राखिने गरेका कारण तीनको उपलब्धता कम हुँदै गएको छ। कन्टेनर उत्पादन कम्पनीहरूले पनि कोरोना महाव्याधिका कारण उत्पादनमा कटौती गरेका छन्। उपाध्यक्ष राठीले कोभिड कहरपछि सिपिङ कम्पनीहरूले भाडामा कार्टेलिङ गरिरहेका कारणले पनि भाडामा वृद्धि भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्