आरतीको व्यापार सुक्यो, सिंघल समूहको निशानामा पर्दै अश्विनी र बिशाल

आरतीको व्यापार सुक्यो, सिंघल समूहको निशानामा पर्दै अश्विनी र बिशाल

विराटनगर। भारतमा भुषण पावर कम्पनि टाट पल्टिएपछि त्यसैको विङ्ग्सको रुपमा रहेको विराटनगरको आरती स्ट्रिप्सका उत्पादनको बजार समेत नराम्रोसँग खुम्चिएको छ । बहुराष्ट्रिय कम्पनि भुषणले भारतीय बैंकबाट लिइएको ऋण तिर्न नसकेपछि भारतभरका सबै उद्योगहरु लिलामीमा गएपछि त्यसको असर आरती स्ट्रिप्सका उत्पादनको भारतीय बजारमा परेको हो ।

वार्षिक साढे ६ अर्ब रुपैयाँ बराबरको जस्तापाता निकासी गर्ने आरती स्ट्रीप्स व्यवसायिकरूपमा कमजोर बन्दै गएको छ । भुषणका मालिकहरुले छलछाम गरेर आरतीका तीन कर्मचारीको नाममा साढे ९ अर्ब रुपिँयामा बिक्री गरेको देखाएको आरती त्यसै पनि बन्द हुने अवस्थामा पुगेको दावी गरिन्छ । नेपालमा बुझाउनु पर्ने लाभांस कर समेत छलेर जोगाएको आरतीको स्वामित्व सिंघल समूहसँग भने छैन तर मालिक भने उनीहरु नै हुन् ।

पछिल्लो समय कारोबार ओरालो लाग्न थालेपछि भारतीय लगानीकर्ताले उद्योग नै बन्द गर्नेतर्फ सोच बनाउन थालेका छन् । मालिक अनित्य सिंघलले कागजी सञ्चालकद्वय अश्विनी शर्मा र विशाल गुप्तासँग हैरानीमा परेको भन्दै उनीहरुलाई दवाव दिन थालेका हुन् । तर, आरती भित्रको खेलामा यस अगाडी संजीव शर्मालाई समेत मालिकमध्ये संजय सिंघलले बारम्बार दवावसँगै मारपिट समेत गर्दै आएका थिए । अहिले प्रमोटरहरुको दवावमा अश्विनी र बिशाल परेका हुन् । यस अगाडी संजीव, अश्विनी र विशालको नाममा आरती स्ट्रिप्सको स्वामित्व राखेर संजय सिंघलसहितको सिंघल समूह भने आरतीको प्रवद्र्धक (प्रमोटर) को रुपमा देखिएका थिए ।

उद्योगका प्रशासन प्रमुख दिवस नेपालले उद्योग भित्रको कुरा आफूलाई जानकारी नहुने बताउनुभयो । नेपालले पहिले उद्योगले कच्चा पदार्थ सीआर सिटको पैठारी गर्नुपर्ने भएपनि अहिले सीआर सिटको पनि कच्चा पदार्थ एचआर सिटको पैठारी गरेर सीआर सिटको उत्पादन कारखानामै गरिरहेको जानकारी दिनुभयो । उद्योगले तीन वर्षअघि सुरु गरेको टिएमटी छडको उत्पादनले बजार जमाइसकेको नेपालले दावी गरेपनि आरतीको उत्पादनलाई किफायति नभएको भन्दै आलोचना गर्नेहरुको संख्यासँगै ‘रिजेक्ट’परिणाम बढ्दै गएको बताइन्छ ।
उद्योगका सञ्चालक अश्विनी शर्मा भूषण ग्रुपको विघटनसँगै आरतीको उत्पादनमा समस्या भईरहेको बताउनुहुन्छ । भारतमा भुषणको नकारात्मक छापले आरतीको उत्पादनको बजारीकरणमा समस्या आएको हो । शर्माले  उद्योगको अवस्था सकारात्मक अवस्थामा रहेको दावी गर्नुभयो ।

खटपट र छलछामको सुरुवात

भारतमा भुषण पावरका सबै कार्यालयमा त्यहाँको प्रशासनले एकै पटक छापा मारेपछि आरतीका पनि दुर्दिन सुरु भए। त्यसपछि भारतमा आफ्नो व्यापारको लिंकमा पनि केहि परिवर्तन गर्नुपर्ने आरतीको प्रशासनलाई दवाव थियो । त्यसैबेला नेपालमा रंगिन जस्तापातामा प्रयोग गर्न आयात गरिएको रंग भित्र्याउँदा भन्सार छलछाम गरेको देखिएपछि राजश्व अनुसन्धान विभाग हुँदै पोष्ट कस्टम अडिटले फायल झिकेर अध्ययन सुरु ग¥यो । त्यस बखत झण्डै ३० करोड रुपिँया बराबरको कम मूल्यांकनमा रंग भित्र्याएको देखिएपछि नेपालको भन्सार प्रशासन, राजश्व प्रशासनका कर्मचारीमा आरतीले ठूलो रकम लगानी गर्नु परेको थियो । भन्सार छलेको आरोपको मुद्दा भने त्यसै ढिसमिस गरिएको छ तर राज्यलाई बुझाउनु पर्ने कर भन्दा धेरै कर्मचारीलाई कमिसन बुझाउनु परेको थियो ।
भूषण ग्रुप नेपालका कर्मचारीलाई मिलाउँदै फाइदा उठाउन दोस्रो पटक पनि सफल भयो। कम्पनी रजिस्ट्रार कार्यालयमा उद्योगका सञ्चालकमा भूषण ग्रुपका मालिक सञ्जय सिंघल, अनित्य सिंघल र अनिकेत सिंघलको नाम हटाएर उद्योगमै कार्यरत तीन भारतीय कर्मचारीका नाममा स्वामित्व हस्तान्तरण गरियो । जसमा संजीव र अश्विनी तथा विशालको नाम राखिएको थियो ।

यसमध्येका सञ्जीव शर्मा मृगौलाको रोगबाट गम्भीर बिरामी भएर भारत फर्केको दावी गरिएको छ । तर, संजीव निर्देशक हुँदा नै आरतीका संजय सिंघलले बारम्बार उद्योग परिसरमै कुटपिट गरेर हैरानी पार्ने गरेपछि उनी फर्किएको नजिकबाट जान्नेहरुले बताएका छन् । त्यस अगाडी सिंघलले उद्योगका भारतीय बजार हेर्ने प्रतिनिधि इन्द्र गर्गलाई मरणाशन्न हुने गरि कुटपिट गरेका थिए । गर्गलाई कुटपिट गरेपछि संजय विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । उद्योगको गेटबाट निकालिएका गर्गलाई जिल्ला प्रशासन कार्यालय मोरङले प्रहरीको सुरक्षा दिएर पुर्नस्थापित ग¥यो । त्यस घटनामा संजीव शर्माले प्रशासन मिलाउन नसकेको भन्दै संजयले उनलाई ‘किक आउट’ गरिदिए र संजीवको स्थान अश्विनीलाई सुम्पे । अहिले अश्विनी र बिशालमाथि संजयले बारम्बार दवाव बढाउँदै लगेका छन् । तर, त्यस बेला अश्विनी र बिशाललाई हात लिएर संजीवमाथि ज्यादती गर्ने गरेका थिए ।

अश्विनी र विशालका नाममा मात्र सञ्चालित हालको आरती स्ट्रीप्सबाट उनीहरुको स्वामित्व फर्काउन सिंघल समूहले विभिन्न तरह गर्दै आएको बताइन्छ । कागजमा देखाउन अश्विनी र विशाल मालिक भए पनि सिंहल परिवारका सदस्य आरतीका खास प्रमोटर र मालिक हुन् । उनीहरुका कम्पनिमध्ये आरती मात्रै भारतीय प्रशासनको नजरबाट बचेको छ । किनकी भारतमा भुषण पावर डुब्ने देखिएपछि सिंघल समूहले आरतीको स्वामित्व कर्मचारीको नाममा राखेका थिए । यी सबै विषयमा अश्विनी भने अस्वीकार गर्दै भन्नछन्–त्यस्तो केहि छैन, उद्योग फाइदामै चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्