विराटनगर रानीको सीमा क्षेत्रमा तस्करीको बाटो खोल्न एकधुर जग्गामा विवाद, दुवै पक्षको आ–आफ्नो आरोप र दावी

विराटनगर रानीको सीमा क्षेत्रमा तस्करीको बाटो खोल्न एकधुर जग्गामा विवाद, दुवै पक्षको आ–आफ्नो आरोप र दावी

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र नजिक रानीमा एक धुर तीन कनुवा जग्गाको विषयमा स्थानीयबीच विवाद देखिएको छ । सार्वजानिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै विराटनगर १५ र १६ का स्थानीयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गुनासो गरेका छन् ।  स्थानीय गोपाल प्रसाद साहका अनुसार ३२ वर्ष अगाडी २०४५, नापी सर्वेको फिल्डबुकमा नाला जनिएको सिट नम्बर १७८–०९४२–०३ को कित्ता नम्बर ६ को जग्गामा अहिले व्यक्तिले दावी गरेका हुन् । तर, साहसहितका स्थानीयले पत्रकार सम्मेलन गरेरै आरोपित गरिएका प्रदिप नेवटीयाले भने जग्गा आफ्नै भएकोले घेराबेरा गरेको दावी गरेका छन् ।

दशगजा क्षेत्रमा जोडिएको न्यून क्षेत्रफलको जग्गामा देखिएको विवाद भने रहस्यमय छ । साविक रानी भन्सार हुँदै वैधानिक रुपमा मालवस्तु पैठारी र निकासीसँग सम्बन्धित भन्सार प्रशासनको काम विराटनगर–१८ बुधनगरको आईसीपीमा सरेपछि रानी क्षेत्रको चहलपहल सुस्ताउँदै गएको छ । रानी भन्सार नजिकै सीमा प्रहरी चौकी छ । चौकी पश्चिम दशगजा नजिकको क्षेत्रमा एकधुर जग्गामा स्थानीयबीच नै विवाद देखिएको हो । त्यो जमिनमा पीपलको रुख छ, तिहार अगाडी स्थानीयले एकाएक हनुमानको मुर्ती लगेर रुखमुनी राखिदिए ।


त्यहि जग्गा आसपासमा साना–साना घर र टहराहरु निर्माण पहिल्यै भईसकेका थिए । दशगजा क्षेत्र नजिक पर्ने स्थानमा निर्माण भएका यी घर तथा टहराको मूल ढोका नेपालतर्फबाट प्रवेश गरेपछि पछाडी ढोकाबाट भारतमा पुगिन्छ । सीमा प्रहरी चौकी रानी र त्यो बस्तीलाई सडकले छुट्याएको छ । त्यहि सडक किनारामा व्यापार गर्ने स्थानीयले नै सार्वजानिक जग्गा हडप्न खोजिएको भन्दै पत्रकार सम्मेलन गरेर आक्रोश पोखेका हुन् ।

सीमा क्षेत्रबाट हुने तस्करी रोक्न प्रहरीले यस अगाडी विराटनगर जुटमिलको दक्षिण गेटतर्फका संरचनाको झ्याल ढोका टालेको थियो । ती संरचनाको झ्याल ढोका टालिएपछि तस्करी गर्नेहरुले नयाँ बाटोको रुपमा त्यहि एक धुर जग्गाबाट नेपाल–भारत आउजाउ गर्ने बाटो खोल्न खोजेको जानकारहरुको दावी छ ।

स्थानीय ललनलाल मण्डल, कमला श्रेष्ठ, विकास थापा लगायतले पत्रकार सम्मेलनमा प्रदिप नेवटिया, नन्द किशोर नेवटिया र प्रशान्त नेवटियाले तस्करी गर्नका लागि सार्वजानिक जग्गा हडप्न खोजेको आरोप लगाएका छन् । तर, प्रदिप नेवटियाले आफूले सरकारी संरचनादेखि मन्दिर निर्माण गर्नसम्मलाई जग्गा दान दिदैं आएकोले सार्वजानिक जग्गा हडप्नु पर्ने आवश्यकता नै नभएको दावी गरेका छन् । उनले भने ७ र ६ नम्बर कित्ताको जग्गा पहिले हाम्रो हजुरबुबाको थियो, ६ नम्बरबाट भन्सारका लागि आवश्यक संरचना तयार गर्न हामीले नै जग्गा दिएका थियौं, त्यसैको एक टुक्रा त्यहाँ रहेको हो ।

 

एकधुर जग्गा विवाद विराटनगर महानगरपालिका, जिल्ला प्रशासन, प्रहरी हुँदै उच्च अदालत विराटनगरसम्म पुगेको छ । स्थानीय ललन मण्डलले पत्रकार सम्मेलनमा भने–अदालतले जे भन्छ त्यहि मान्छौं तर जग्गा चाँहि सार्वजानिक हो । उनले पहुँचवाला मारवाडी समुदायका नेवटीया परिवारले एक धुर तीन कनुवा सार्वजानिक जग्गा पान पसलेलाई बिक्री गर्न खोजिरहेको आरोप लगाए ।
स्थानीयले सार्वजानिक जग्गामा भएको पीपलको रुख काट्न रोकि पाउँ भनेर उच्च अदालत विराटनगरमा निषेधाज्ञायुक्त परामादेशका लागि दर्ता गरेको मुद्दामा एकसाता अगाडी मंसिर १९ गते परमादेश भईसकेको छ । नेवटीया परिवारले पीपलको रुख काट्न खोजेपछि उनीहरुले अवरोध गरेका थिए ।


स्थानीयले आरोपित गरेका नेवटीयाले आफ्नोतर्फबाट बहस गर्न कानुन व्यवसायी राखिसकेको बताउँदै नियत आफ्नो गलत नरहेको दावी गरेका छन् । उनले भने मैले त्यहाँबाट तस्करीको लाइन चलाउन दिन्न भनेर घेराबेरा गरेको छु, त्यहाँ कुनै संरचना आफूपनि बनाउँदिन । उनले यथेष्ट प्रमाण पेश गरेर आफ्नो जग्गा फिर्ता लिने तर लुट्न नदिने दावी गरे ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जग्गाको विषय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भएपनि नेवटीया बाहेक अरुले जग्गामा कुनै दावी नगरेको जानकारी दिए । उनले त्यहाँ तिहार अगाडी स्थानीयले अस्थायी मूर्ती राखेको र जिल्ला प्रशासनको आदेश अनुसार प्रहरीले हटाउनु पर्ने भएकोले छलफल बोलाइएको बताउनुभयो । तर, स्थानीयहरुले मूर्ती आफैं उठाएर लगेको प्रहरी निरीक्षक थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्