ढुवानी महंगो भएको दावी गर्दै सिमेन्ट उद्योगले भारतबाट क्लिङ्कर पैठारी गर्दै

ढुवानी महंगो भएको दावी गर्दै सिमेन्ट उद्योगले भारतबाट क्लिङ्कर पैठारी गर्दै

विराटनगर । ढुवानीका साधन अभाव र महंगो दरलाई देखाउँदै सिमेन्ट उद्योगका सञ्चालकले भारतबाटै क्लिङ्कर पैठारीको परिणाम बढाउन थालेका छन् । प्रदेश १ का तीन जिल्लामा सञ्चालित सिमेन्ट उद्योगहरुले नेपालको क्लिङ्कर ढुवानी महंगो पर्न गएको भन्दै भारतबाट पैठारी बढाएका हुन् ।

भारतको महाराष्ट्र, मध्यप्रदेश र राजस्थानबाट सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर आयात गर्न थालेको बताएका छन् । भारतमा क्लिङ्करको मूल्य नेपालमा भन्दा बढी पर्ने भएपनि ढुवानी सहजता र सस्तो पर्ने भएका कारण सीमा जोडिएका तराईका जिल्लामा रहेका उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाई छ । औद्योगिक सहजताका लागि भारतबाट पैठारी गरिरहेका हौं, नेपाल उद्योगवाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् अन्नपूर्ण सिमेन्टका सञ्चालक राजेन्द्र राउतले भन्नुभयो–सहजतालाई पनि हामीले प्राथमिकतमा राख्छौं । उहाँले एकै पटक धेरै परिमाणमा क्लिङकर बथनाहा र जोगबनसम्म आउने र त्यहाँबाट उद्योगसम्मको ढुवानी पनि सहज हुने दावी गर्नुभयो ।

उद्योगीहरुले नेपालको क्लिङ्कर पनि उत्पादनयोग्य रहेको बताउँदै आएका छन् । राम्रो र गुणस्तरीय छ तर सहजता छैन, उद्योगी राउतका अनुसार अहिले उत्पादन पनि भने जस्तो छैन । लकडाउन र वर्षात्का कारण आवश्यक पर्ने क्लिङ्कर उत्पादन नभएको हो ।
सिमेन्ट उद्योगले पूर्ण क्षमतामा उत्पादन दिनुपर्ने समय भएकोले अहिले क्लिङ्करको प्रयोग समेत बढेको छ । नेपालमा मालवस्तु ढुवानी गर्ने साधानहरु समेत लामो समयसम्म रोकिएका कारण धेरै किसिमको समस्या आईरहने अवस्थामा पुगेको बताइन्छ । नेपालका खानी उत्खनन् गर्नेहरुको आफ्नै सिमेन्ट उद्योग समेत रहेकोले कतिपय अवस्थामा अन्य सिमेन्ट उद्योगलाई आवश्यक परेको बखत क्लिङ्कर उपलब्ध सहज रुपमा नगराउने झापाको गोरखकाली सिमेन्टका सञ्चालक दीपेश ढकालले बताउनुभयो । उहाँका अनुसार झापाका सात सिमेन्ट उद्योगले नै भारतबाट क्लिङ्कर आयात गर्ने गरेको बताउनुभयो ।

सप्तकोशी सिमेन्ट उद्योग कटहरी मोरङका आशिष गोयलले नेपालको ढुवानी भाडादर अत्याधिक बृद्धि भएको बताउनुभयो । उहाँले एक ट्रक क्लिङ्करको ढुवानी गर्दा एक महिना अगाडीसम्म एक हजार ६०० बुझाउनु पर्नेमा अहिले दुई हजार २०० पुगिसकेको दावी गर्नुभयो । नेपालमा ढुवानी समस्या भएका कारण भारतबाट क्लिङ्कर मगाउने गरेको दावी गर्ने उद्योगीहरुले मकवानपुर, हेटौडा र जनकपुरबाट क्लिङ्कर खरिद गर्नुपर्ने हुन्छ ।
पूर्वका उद्योगले यसअघि मकवानपुरको होङसी, हेटौँडाको रिद्धिसिद्धि र जनकपुरको कसमस सिमेन्टबाट क्लिङ्कर खरिद गर्दै आएका थिए । प्रदेश नम्बर १ मा धनकुटाको निगाले सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग खानिमा आधारित हुन् । झापाका ७ र मोरङ–सुनसरीका ५ गरी १२ उद्योगले कच्चा पदार्थ क्लिङ्कर खरिद गरेर सिमेन्ट उत्पादन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्