विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।
विराटनगरको वैजनाथ क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २५ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा महमद आलमले ३५ रन बनाउँदा अमन यादव २६ रनमा अविजित रहे । स्मल हेभेनका समिम मन्सुरीले ३ विकेट लिए ।
१ सय २६ रनको लक्ष्य पछ्याएको स्मल हेभेनले १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाई ४२ रनमा सिमित भयो । स्मल हेभेनकालागि दुवे यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच अमन यादवले ४ विकेट लिए ।
दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले दमकको आस्था कलेजलाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको आस्थाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ ओभरमा सबै विकेट गुमाई ९६ रनको स्कोर बनाएको थियो । आस्थाका भुपाल दैगालले सर्वाधिक २६ रनमा अविजित रहे । ग्रिनल्याण्डका का प्लेयर अफ म्याच गौरीशंकर माझीले ४ विकेट लिए ।
९७ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १९ दशमलव ३ ओभरमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । ग्रिनल्याण्डको जितमा सन्दिप शर्माले सर्वाधिक २५ रनको योगदान दिए । आस्थाका सुयोग भट्टराईले ४ विकेट लिए ।
फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए । सहभागि ३ जिल्लाबाट हिसान फाइनल खेलेका कलेजले प्रतियोगितामा सहभागि हुन पाउँने छन् । प्रतियोगिताको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, एम्पायर भास्कर अर्याललाई क्रिकेट बल दिएर उद्घाटन गरे ।