सामाजिक विकास मन्त्रालयमा मन्त्री घिमिरेका २ वर्ष १० महिना ९ दिन

सामाजिक विकास मन्त्रालयमा मन्त्री घिमिरेका २ वर्ष १० महिना ९ दिन

विराटनगर । प्रदेश १ सरकारको मध्यावधी प्रगति समिक्षा (गत असार मसान्तसम्म) सामाजिक विकास मन्त्रालयको समग्र उपलब्धी ७१.८४ प्रतिशत र वित्तिय प्रगति ७१.७७ प्रतिशत थियो । प्रदेश योजना आयोगले कार्यप्रगतिमा सामाजिक विकास मन्त्रालयलाई प्रदेशमै एक नम्बरमा राख्दै आफ्नो प्रतिवेदन सार्वजानिक ग¥यो ।

मन्त्रालयको जिम्मेवारी लिएर २ वर्ष १० महिना ९ दिन पदमा रहँदा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कस्ता–कस्ता कामहरु गर्न भ्याउनु भयो ? नेकपा भित्रको विवाद र संसद बिघटनपछि मन्त्रीबाट राजीनामा दिनुभएका घिमिरेले सोमबार ९ वटा क्षेत्रमा आफूले महत्वपूर्ण कार्य गरेको दावी गर्नु भएको छ । मन्त्री क्वाटर छोड्नु अगाडी मन्त्री घिमिरेले पत्रकार सम्मेलन गर्दै सार्वजानिक गर्नु भएको प्रगति विवरणमा शिक्षा र प्रविधिमा सबैभन्दा उत्कृष्ट काम गरेको उल्लेख गर्नु भएको हो ।

त्यसैगरी उच्च शिक्षा र विश्व विद्यालय स्थापना, स्वास्थ्य प्रतिरोधात्मक तथा उपचारात्मक सेवा तथा स्वास्थ्य जीवन प्रवद्र्धन कार्यक्रम, महामारी नियन्त्रण र अस्पताल सुधार, विज्ञान प्रविधि तथा प्राविधिक शिक्षा, समाजकल्याण र सामाजिक सुरक्षा, युवा तथा खेलकुद विकास, श्रम तथा रोजगारी र भाषा, कला, साहित्य, पुरातत्व, संस्कृति र सम्पदाको क्षेत्रमा भएका कामहरुको सारसंक्षेप :

शिक्षा र प्रविधि

प्रदेश १ लाई दशवर्ष भित्रमा प्रदेश १ का विद्यालयलाई झोला र किताबरहित बनाउने उद्देश्य अनुरुप सुरु डिजिटल सिकाई प्रणाली स्थापितका लागि १३१६ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला र १०० विद्यालयमा स्मार्ट कक्षा निर्माण गरिएको मन्त्री घिमिरेले दावी गर्नु भएको छ । सूचना प्रविधि शिक्षक सिकाईको आधार तयार गर्नका लागि ३१७६ शिक्षकलाई सूचना प्रविधि तालिम र १७ स्थानीय तहसँगको साझेदारीमा १६०० शिक्षकको क्षमता विकास गरिएको दावी छ । यसैगरी १६५ सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला, २४९ विद्यालयमा पिउने पानी र १३७ विद्यालयमा छात्रा शौचालय र ३३४ विद्यालयको भवन निर्माण गरिएको दावी छ ।

घिमिरेको कार्यकालमा प्रदेशस्तरीय आवासीय विद्यालय स्थापना र निर्माणको लागि धनकुटाको राजारानी र मोरङको केराबारीको सीमा क्षेत्रमा पर्ने सिद्धिपुरमा ४३५ रोपनी जग्गा प्राप्त गरि त्यसको डिपिआर प्रक्रिया पूरा गरिएको उल्लेख गरिएको छ ।
यसैगरी उच्च शिक्षातर्फ देशभरमै पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालय मनमोहन पोलिटेक्निकमा स्थापना गरि आवश्यक जनशक्ति व्यवस्थापनसहित स्नातक र स्नातकोत्तर अध्ययनको लागि पाठ्यक्रम निर्माणको काम सम्पन्न भएको मन्त्री घिमिरेले बताउनुभयो । यो प्राविधिक विश्वविद्यालयमा रेल–वे सँग सम्बन्धित प्राविधिक विषयको अध्ययनको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको मन्त्री घिमिरेले बताउनुभयो । यहि अवधीमा ८४ सामुदायिक क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला, अति मिासन्तकृत तथा सिमान्तकृत समुदायका २०० छात्रछात्रालाई छात्रवृति र प्रदेशभरका ८ जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि दश लाखका दरले अनुदान उपलब्ध गराइएको मन्त्री घिमिरेले बताउनुभयो ।

स्वास्थ्य क्षेत्र

विराटनगर–१४ मा दश करोडको लागतमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्माण सुरु, विराटनगर, याङशिला र उदयपुरमा सर्पदंश उपचार केन्द्र स्थापना, पाँच हजार नागरिकलाई दाँत उपचार र परीक्षण जस्ता कार्यक्रमलाई मन्त्री घिमिरेले गर्नु भएको महत्वपूर्ण कार्यको रुपमा उल्लेख गर्नु भएको छ । यसैगरी बौद्धिक अपाङ्गता तथा अटिजम भएका बालबालिकालाई अनुदान र हेमोफिलियाका विरामीलाई ९३ जना बालबालिकालाई एन्टिहेमोलिक प्याक्टर व्यवस्थापन गरिएको घिमिरेले सार्वजानिक गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश भित्रका १३७ स्थानीय तहमा १४२ वटा विद्यालयमा नर्स कार्यक्रम समेत यसै अवधीमा सम्पन्न भएको दावी छ ।

महामारी नियन्त्रण र अस्पताल सुधार

कोरोना संक्रमणको जोखिम र न्यूनीकरणका लागि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट अवधारणासहित संक्रमितको उपचारका लागि छुटै अस्पताल निर्माण देशभरमै पहिलो अभ्यासको रुपमा स्थापित गरिएको मन्त्री घिमिरेले बताउनुभयो । यसैगरी अक्सीजन, आई.सि.यु. तथा भेन्टिलेटरसहित दुईसय शैयाको अस्पताल स्थापना गर्न सफल भएको दावी मन्त्री घिमिरेको छ ।

विज्ञान र प्रविधि

विज्ञान प्रविधिमा अनुसन्धान गरी सोधपत्र तयार गर्ने पाँचजना सोधकर्तालाई अनुदान सहयोग, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङमा बहुप्राविधिक शिक्षालय स्थापना, प्राविधिकधारका ८३ सामुदायिक विद्यालयहरुमा विषयगत ल्याबको स्थापना र युवा वैज्ञानिक खोज तथा प्रोत्साहनका लागि १६ जनालाई नगद पुरस्कार प्रदान गरिएको घिमिरेद्वारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समाज कल्याण र सामााजिक सुरक्षा

मोरङको ग्रामथानमा ११ बिघा क्षेत्रफलमा ज्येष्ठ नागरिक ग्राम, मानवसेवा आश्रम र बाल ज्ञान केन्द्र भवन निर्माणको काम सुरुवात गरिएको, प्रदेशरभरमा ५० वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिएको, सडक सहयोगापेक्षी ३०० नागरिकको उद्धार र संरक्षण गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो । यसैगरी ३४ जना राजनीतिक आन्दोलनका घाइतेहरुका ५२ जना सन्ततिलाई शैक्षिक सहायता र २७७० जना ज्येष्ठ नागरिकलाई पाँच हजारका दरले उपचार खर्च उपलब्ध गराएको दावी मन्त्री घिमिरेले गर्नुभयो ।
ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सुनसरी, मोरङ र झापाका ११ स्थानीय तहका ३०० एकल महिलाहरुलाई सीप विकास तालिममा सहभागी गराएर उद्यमशीलता प्रवद्र्धनका लागि समूहगत रुपमा १० लाख बीउ पूँजी उपलब्ध गराएको घिमिरेद्वारा सार्वजानिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश १ का ३०० अपाङ्गता भएका व्यक्तिहरुलाई सीप मूलक तालिममा सहभागी गराएर ५० जनालाई व्यवसाय प्रवद्र्धनका लागि ५० हजारका दरले अनुदान उपलब्ध गराएको मन्त्री घिमिरेले बताउनुभयो ।

युवा तथा खेलकुद विकास

सामाजिक विकास मन्त्री घिमिरेले आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण कामको रुपमा विराटनगरस्थित शहीद मैदानमा रात्रीकालिन खेलकुद प्रतियोगिता सञ्चालनका लागि फ्लड लाइट व्यवस्थापन गर्ने काम गर्न सफल भएको बताउनु भएको छ । त्यस बाहेक प्रदेश सरकारको नीति अनुरुप राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागी भएका ३४६ जना खेलाडीलाई नगदसहित सम्मान, १३७ स्थानीय तहमा खेलमैदान स्तरोन्नतीका लागि बजेट व्यवस्थापन, जिल्लागत रुपमा खेलमैदान र मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता आयोजना गरिएको उल्लेख गरिएको छ ।

भाषा, कला र साहित्य

भाषा, कला, साहित्यमा योगदान गर्ने २६ जना स्रष्टालाई सम्मान, प्रदेशमा बोलिने भाषाको खोजअनुसन्धान, पौराणिक सम्पादाहरुको खोजि र प्रचारप्रसारको काम गरिएको मन्त्री घिमिरेले उल्लेख गर्नुभएको छ । भोजपुरका हतुवागढी, धरानको विजयपुर, पाँचथरको हिलिहाङ, झापाको किच्चकबध, सुनसरीको विजयपुरगढी, उदयपुरको चौदण्डीगढी, मोरङको विराट राजा दरबार क्षेत्रको प्रचारका लागि एकिकृत बृत्तचित्र निर्माण गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो । प्रदेशमा सार्वजानिक पुस्तकालय र प्रादेशिक संग्राहालय, साँस्कृतिक ग्राम निर्माणको थालनी गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्