महिला क्रिकेटमा प्रदेश १ को सानदार जीत, पहिलो पटक उचाल्यो उपाधी

महिला क्रिकेटमा प्रदेश १ को सानदार जीत, पहिलो पटक उचाल्यो उपाधी

विराटनगर। प्रदेश १ को महिला क्रिकेट टिमले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दाङको देउखुरीमा सम्पन्न फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले आइतबार पहिलोपटक उपाधि हात पारेको हो ।

प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा मात्रै सिमित रहनु परेको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए भने संगिता राईले १ विकेट लिइन् ।


त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १०५ रन बनाएको थियो । ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएका थिए । दुबैले ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरिन् ।
रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन् । आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् ।

काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन् । २६ बलको सामना गरेकी उनले चौका प्रहार गरिन् । यस्तै रोमा थापाले ३ रन, निशा शाहले ५ बनाउँदा संगिता राई २ रनमा अविजित रहिन् । बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।

उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गरेको छ भने उप–विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्