नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य डा रिजालले आगामी फागुनमा कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताउनुभयो । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उहाँको जिकिर थियो ।