विराटनगरबाट अन्तर–प्रादेशिक उडान आवश्यक : मन्त्री ढकाल

विराटनगरबाट अन्तर–प्रादेशिक उडान आवश्यक : मन्त्री ढकाल

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पूर्वको पर्यटन विकासका लागि विराटनगर विमानस्थलबाट उच्च हिमालीसहित अन्तर प्रादेशिक उडान र अवतरण गर्नु आवश्यक रहेको बताउनु भएको छ । विराटनगर विमानस्थल विस्तारको प्रक्रियासँगै हवाई बेस स्थापना गरेर प्रदेश भित्र हिमाली तथा पहाडी क्षेत्रमा नियमित र अन्तर प्रादेशिक उडान गरिनुपर्ने मन्त्री ढकालले बताउनु भएको हो ।

शुक्रबार नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग विराटनगर विमानस्थल विस्तारको विषयमा जानकारी लिदैं मन्त्री ढकालले प्रचर संभावना बोकेको पूर्वको पर्यटन ओझेलमा परेको बताउनुभयो ।
प्रदेश १ को राजधानी विराटनगरमै एयर बेस राखेर पहाडी जिल्लाहरुमा उडान र अवतरण गराउने वातावरण मिलाउन आफू लागिपर्ने बताउनु भएको थियो । छिमेकी राष्ट्र भारत र बंगलादेशसम्मको उडान भर्नका लागि आवश्यक संरचना विस्तार पहिलो चरणसँगै सुरु गरिने बताउँदै मन्त्री ढकालले प्रक्रियागत रुपमा पूर्वको पर्यटनलाई उठाउनका लागि कमद चालिने बताउनुभयो ।

सम्पदा र सुन्दरताको धनी देश भएपनि नेपालमा पर्यटक आगमनको संख्या उल्लेख्य नहुनुका कारण खोज्न सबैले लाग्नुपर्ने मन्त्री ढकालको सुझाव थियो । विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण लगायतका कामलाई तदारुकताका साथ अगाडी बढाउनका लागि मन्त्री ढकालले निर्देशन समेत दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्