कोरोनाले संकटग्रस्त विराटनगरका उद्योगको मन्त्रालयले थाल्यो अध्ययन

कोरोनाले संकटग्रस्त विराटनगरका उद्योगको मन्त्रालयले थाल्यो अध्ययन

विराटनगर । कोरोना संक्रमणका कारण उद्योगमा परेको समस्याको उद्योग मन्त्रालयले स्थलगत अध्ययन र अवलोकन थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगका समस्याको विषयमा शुक्रबार उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेतृत्वको टोलिले उद्योगीहरुसँग बुझेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ मा मन्त्रालयका उद्योग सचिवसहितको अधिकारीहरुले भेटघाट र छलफल गरेको छ । महासंघका उपाध्यक्ष भीमबहादुर पौडेलले टोलिलाई स्वागत गर्दै उद्योगको उत्पादन, कामदार, बैंकको ब्याजको असर अहिले सरकारको राजश्वमा परिरहेको बताउनु भएको थियो ।

यसैगरी मन्त्रालयको टोलिसँग नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले एकीकृत भंसार जांच केन्द्रको स्थापना भएपनि बल्क कार्गोका लागि अहिले सम्म रेल सुविधा नहुंदा लागत बढिरहेको बताउनु भएको थियो । रेल सुविधा ल्याउन पहल गर्नु पर्ने बताउँदै बोहराले सरकारको ध्यान नपुगेको बताउनुभएको थियो ।

बोहराले ठूलो लगानीकर्ताका लागि मात्र एकद्धार नीति भएकोमा साना उद्योगी व्यवसायीलाई पनि यो सुविधा दिनुपर्ने माग राख्नु भएको थियो । जग्गाको लागत बृद्धि भएकोले औद्योगिककरणका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनुपर्ने बोहराको धारणा थियो ।
देशको आर्थिक विकासका लागि ग्लोबल भ्यालु चेन्जमा जान जरुरी रहेको बताउँदै बोहराले बंगलादेशसँगको व्यापार घाटा बढ्दै गएकोले निकासी बढाउने योजना ल्याउनुपर्ने बताउनु भएको थियो । यसैगरी निकासी हुने वस्तुको कच्चा पदार्थ आयातमा पासवुकको सुविधा दिएकोमा सहायक कच्चा पदार्थको आयातमा समेत पासबुकको व्यवस्था गरिनु पर्ने सुझाव बोहराले राख्नु भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालले नेपालमा आत्मनिर्भर हुने खालका उद्योगलाई प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिंदै स्वेदेशी कामदार विदेशीने क्रमले गर्दा विदेशी कामदार ल्याउन वाध्यता रहेको बताउनु भएको थियो । कोभिडका कारण भारतबाट कामदार ल्याउन नसक्दा प्लाइउड, इटा भट्टा जस्ता उद्योगहरु बन्द अवस्थामा रहेको उल्लेख गर्नुभएको थियो ।

उद्योग मन्त्रालयका उद्योग सचिव घिमिरेले देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित रहेको बताउँदै त्यसलाई सुधार्न उत्पादनमूलक उद्योगमा लगानी बढाउन आवश्यक रहेको बताउनु भएको थियो । उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर अगाडी बढ्न सक्दा मात्रै देशको आर्थिक विकासमा टेवा पुग्ने घिमिरेको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्