प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : नेता अधिकारी

प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : नेता अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता भएको बताउनुभएको छ । नेकपा पोखरा महानगरपालिका वडा नं १७ द्वारा बुधबार आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उहाँले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहँदा पार्टीभित्रबाटै विभिन्न नाममा घेराबन्दी गरिएको बताउनुभयो ।

स्वाधीनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उहाँले अवसरवादीका एवं विदेश परस्त प्रवृत्तिसँग बेलैमा जोगिनुपर्नेमा जोड दिनुभयो । पार्टी एकीकरण बखतका विधानलाई अक्षरशः मनन गर्न आग्रह गर्दै पार्टी सिद्धान्त तथा वैचारिक स्पष्टताका साथ उभिन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख एवं पार्टी केन्द्रीय सदस्य मानबहादुर जिसीले चैतमा घोषणा भएको महाधिवेशनसम्म कुर्न नसक्नेले चुनावमा जितेर प्रधानमन्त्री बन्नका लागि निर्वाचानमा चुनौती दिनुभयो । निर्वाचनसँग डराएर सडक आन्दोलनमा लाग्नेले नेपाली जनताको भाग्य र भविष्यप्रतिको षड्यन्त्र भएको बताउँदै अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक हुने विश्वास व्यक्त गर्नुभयो । नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य कृष्ण थापाले वैशाखमा निर्वाचन भएरै छाड्ने विश्वास व्यक्त गर्दै त्यसका लागि कार्यकर्ता सङ्गठित भएर जुट्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय मीना गुरुङ, झकबहादुर थापा, मनुखत्री, पोखरा– १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी, पार्टी जिल्ला कमिटी सदस्य भेषराज बराल, पार्टी वडाध्यक्ष सुभाष ढुङ्गाना, लालबहादुर रानालगायतले राज्यको सम्पत्ति र सरकारी जमिन लुटेरालाई जनताले कारवाही गरेरै छाड्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्