आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो ।

हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढमहिना भयो । स्थानीय खान्की नै बोकेर जङ्गल आगो निभाउन पसेका थिए ।

पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मङ्सिर ११ गतेदेखि शुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो ।

वडा नं ८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताउनुभयो । अहिले बस्ती सुरक्षित छ । “वन र वन्यजन्तु जोगाउन सकिएन ।”उहाँले भन्नुभयो । यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी सङ्कलन क्षेत्रसमेत रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

घरबाटै अन्नपानी बोकेर स्थानीयवासी गत मङ्गलबारबाट आगलागी भएको क्षेत्रमै खाना पकाएर खाँदै आगो नियन्त्रणमा जुटेका थिए । यसअघि स्थानीयवासी मात्रले आगलागी नियन्त्रणको प्रयास गर्दै आएका थिए । मङ्गलबारबाट आगलागी नियन्त्रणमा स्थानीयवासीसँगै सुरक्षाकर्मी र प्रशासनका प्रतिनिधि पनि सहभागी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्