लेखनको प्रारम्भमै एउटा गालीका शब्द संयोजन भएको श्लोक हरफमा उल्लेख गर्नुप¥यो । जुन अहिले नेपाली समाजले तालीका लागि रुचाउँछ ।
चोर–चुतिया, हरामी बजिया
आँख्ले, गधा, गुन्द्रुके
उल्लु पटमूर्ख, पानी–मरुवा
आलु–मुला हल्लुँडे !
उबेला (सानै) मा यति गालिका शब्द प्रहार प्रायः सबै नेपालीलाई भएकै होला । नजानेर वा जानेरै काम बिग्रियो वा भत्कियो, हाम्रा मनमा पक्का डर उब्जन्थ्यो–आज कति गाली खाईने हो । त्यस्तै परे भागदौड पनि मच्चिन्थ्यो ।
तर, यतिबेला राष्ट्रिय गाली महोत्सव सुरु भएको छ । गाली मिश्रित प्रश्न र गाली मिश्रित जवाफ ! नेपालीको लोकभाका झैं चलेको गाली दोहोरीमा जमघट उस्तै राम्रो र लोभलाग्दो छ । जतिजति गाली वर्षन्छ, त्यति–त्यति ताली वर्षन्छ, एकातिरबाट–‘नाटकै हो’ अर्कोतिरबाट–‘नौटङ्गी नै हो’ ! गाली सुन्न पाइन्छ भनेरै भीडमा पुग्नेहरुको संख्या पनि कम छैन ।
पात्रहरु वरिष्ठ भएर होला, दर्शक र स्रोता सानातिना हलमा अट्दैनन् । खुल्ला चौर र सडकमा भरिने दर्शक र स्रोता पनि चानचुनका छैनन् । पाखुरा मसारेर गाली प्रतियोगिता सुन्न हाँजिर हुन्छन् र घर फर्केर त्यहि लवज निकालिहाल्छन् । किन की राष्ट्रिय गाली प्रतियोगिताका प्रतिस्प्रर्धीहरु राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनिएका र पहिचान बनाएकाहरु नै छन् । कसैले नभन्ला भनेर आफैं यति गरिया छु र उति गरिया छु, भन्न पछि पर्दैनन् ।
उनीहरुले भनुन् । तर, समाज कता जान्छ भन्ने चिन्ता लिनुपर्ने जमात पनि एकोहोरिएको देखेर चाँहि दिक्क बढ्छ मनमा । गाली नै मात्रै गर्ने भाषणकला सिकेका झै लाग्ने नेताको पछि लागिरहनु पर्ने युवा जमातको मानसिकता झन् उदेकलाग्दो छ । बुझ्नै नसक्ने जस्ता र बुझेर पनि भन्नै नसक्ने जस्ता युवाहरुकै कारण देश बर्वादीतर्फ फड्को मार्दैछ ।
राजनीतिमा सक्रियहरुले नै राज्यको नेतृत्व गर्ने हुन् । राज्यको नेतृत्व नै यति बिघ्न कमजोर अभिव्यक्तिको धरातलबाट प्रस्तुत हुँदा समाजले के सिकिरहेको छ ? यति चिन्तन पनि गर्ननसक्ने व्यक्तिहरुको नेतृत्वमा राज्य सञ्चालन हुँदा पनि किन समर्थन दिनेहरुको संख्या उतिकै छ !
सन्दर्भ कोट्याउँदै २०४६ सालतर्फ फर्कने मात्रै हो भनेपनि देशको राजनीतिले समाजको मानसिकता कसरी निर्धारण गर्दछ भन्ने स्पष्ट झल्कन्छ । यतिसम्मकी बहुदलपछिलाई मात्रै बुझेपुग्छ । बहुदल र प्रजातन्त्रको नाममा स्वःनियम र स्वःअनुशासन उल्लंघन हुँदा बढेको स्वेच्छाचारिताले देशमा भ्रष्टचारको बिरुवा नेतृत्वबाटै रोपिएको थियो । जसको असर समाजका प्रत्येक निकाय हुँदै नेपाली जनमनमै गाँजिन पुग्यो । नेतालाई मात्रै हैन प्रत्येक नेपालीलाई कुनै न कुनै संस्थाको नेतृत्वमा पु¥याउँ, उसले कुनै न कुनै रुपमा भ्रष्टचार त गर्छगर्छ । त्यसको रोपण २०४६ पछि नै भएको हो । जुन बिरुवा अहिले हामीबीच बढिरहेको छ । जता फर्केपनि एउटै कुरा आउँछ–नेताले खाईहाल्छन्, भेटेको बेला हामीले किन छोड्ने ?!
त्यसपछि २०६२÷२०६३ को जनआन्दोलनसँगै राजनीतिक संरक्षणमा अपराध हुँर्कदाको पीडा अहिले नेपाली समाजको अर्को कुरुप पक्ष बनेको छ । प्रत्येक राजनीतिक दलमा अपराधी पृष्ठभूमिका व्यक्तिको बोलवाला छ । दलका नेतापिच्छे १०–१२ जना मुन्द्रे र हुक्के अनिवार्य संरक्षित छन् । मानौं, जनसमर्थन देखाउनु पर्दा कुन नेताको पक्षमा कति मुन्द्रेहरु सडकमा वा पार्टी कार्यालयमा उभिए, त्यसैमा मूल्यांकन हुन्छ । पछिल्ला समयमा अपराधी नै करार भईसकेका र फरार सूचिमा रहेकाहरुले सांसद पद हत्याउनुको कारण नि यहि हो । इमान्दारहरु पाखा लाग्दै गएर नेताहरुको समर्थनमा खराबहरु मात्रै उभिने दिन आएपछि कस्तो नेतृत्व पाउला देशले ?
अहिले प्रधानमन्त्री एवं नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको जुहारी सुन्दा केहिवर्ष पछि नै नेपालमा गाली प्रतियोगिता आयोजना हुनसक्ने संभावना छ । नभएपनि प्रत्येक नेताका पछाडी ५–७ जना गाली वर्षाउन सक्ने युवा समूह निर्माण गरिनेछ । उनीहरुको काम नै प्रतिस्प्रर्धीका विरुद्ध गाली गर्नेहुनेछ । त्यसैपनि अहिले व्यवहार लागु भईसकेको जस्तो देखिन्छ ।
समग्रमा देशको नेतृत्व गर्ने कर्तामा वैचारिक स्खलनको मात्रा वर्षेनी बढ्दै जान थालेपछि उसले बिश्राम लिएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने हो । तर, हाम्रो देशमा जसरी पनि पार्टी र सरकारको सत्ता बुढेस्हरुले नै राख्न चाहन्छन् । जसको परिणाम सङ्लिएको राजनीति पनि केहिबेरमै धमिलिन्छ र देशमा स्थिरताको संभावना कमजोर बन्छ । लोकतन्त्रमा प्रत्येक मनहरुलाई स्वनियम र स्वअनुशासनले बाँध्न सक्दा मात्रै लोकतन्त्र बलियो र सुन्दर हुन्छ । स्वेच्छाचारिता र उद्दण्डताको पक्षपोषण गर्ने समूह बलियो हुँदै गए लोकतन्त्रको आत्माले मृत्युवरण गर्दै अराजकताले पश्रय पाउँछ ।
गज्जबको कुरा यो छ की बाइबल छोएर अमेरिकी राष्ट्रपति सपथ लिन्छन् । नेपालीहरुले अमेरिकका मनपराउँछन् । त्यहाँको एमसीसी जस्ता अनुदानलाई जसरी पनि स्वीकार गर्नुपर्दछ भनेर राजनीतिक दलका नेतामा बहस हुन्छ । हुन्न भन्नेलाई किनाराका अनेकन तिकडम रचिन्छन् । त्यहि पनि नेपालीहरु बाइबल छोएर सपथ गर्ने राष्ट्रका प्रमुखले दिने रकम भित्र्याउने र हिन्दुराज्यको पक्षमा वकालत गर्ने बहसमा जुट्छन् !
यसैले अहिलेको नेपाली संस्कृति जति गाली उति तालि । अझै गाली उस्तै तालि । बोल्न अरु केहि जान्नुपर्दैन तर गालीको शब्दकोष लेख्नेहरुका लागि अहिलेको समाज अति नै अनुकुल बनेको छ ।