हल अफ फेम सिजन २, देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो

हल अफ फेम सिजन २, देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो

अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट लगानी भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ । सुरुवाती दुई एपिसोड हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रमको प्रस्तुतिलाई लिएर धेरैले प्रशंसा गरेका छन् । विश्व नै महामारीमा रहेको बेला कार्यक्रमको अवधारणा विकास गरिएको थियो । अनलाईनबाट नै प्रतिभाहरुले आफ्नो सिर्जना र सांगीतिक शिप प्रस्तुत गर्न पाउने मात्र होइन, त्यसलाई नेपाली संगीत आकाशकै चम्किला ताराहरु दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमालले मूल्यांकन गर्ने भएका कारण पनि धेरैको आकर्षण बढेको हो ।
कार्यक्रम निर्माण गर्ने एमएनटीभीका अध्यक्ष चन्द्र योन्जन सुरुवाती प्रतिक्रियाबाट आफुहरुमा उत्साह थपेको बताउँछन् । मानिसहरुले कोरोना, कोरोना र चारैतिर कोरोनाकै कुरा भइरहँदा हामीले फरक सोच राखेर यसलाई अगाडि बढाउने निर्णय गरेका थियौं । सुरुवाती कार्यक्रममा दर्शक र शुभचिन्तकहरुको प्रशंसाले हामीलाई हौसला थपेको छ । उनले भने ।
यस्तै अष्ट्रेलियामा नै बसोबास गरिरहेका कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठले पनि आफुलाई नयाँ अनुभव भइरहेको प्रतिक्रिया दिएका छन् । दुईजना निर्णायकहरु नेपालमा, म अष्ट्रेलियामा । तर, हामी एकै समयमा प्रतिस्पर्धीको गीत सुनेर आफ्ना प्रतिक्रिया दिइरहेका हुन्छौं । प्रविधिले यो सबै सम्भव तुल्याएको छ । अहोरात्र खटिने निर्माण पक्षले यसलाई सफल तुल्याएको छ । श्रेष्ठले भने ।
कार्यक्रमको सुरुवाती चरणदेखि नै यसको विविध पक्षमा मार्गनिर्देश गर्दै आएका मेलबर्नका अगुवा रन्जन वैद्यले भने, देश बाहिर रहेका नेपालीहरुको तर्फबाट नेपाली गीत संगीतको श्रीबृद्धि र प्रतिभा प्रोत्साहनमा चालिएको यो नै सबैभन्दा ठूलो स्टेप होला जस्तो लाग्छ ।
सैयौं प्रतिस्पर्धीबाट छानिएर आएका टप ५० को प्रस्तुति यतिबेला कार्यक्रममा हेर्न सकिन्छ । यो शुक्रबार र शनिबार फेरि थप प्रतिस्पर्धीहरुले आफुलाई अब्बल सावित गर्न कम्मर कस्दैछन् । नेपाली दर्शकहरुको लागि हल अफ फेम सिजन २ हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने गर्दछ । देश बाहिरका दर्शकहरुले एमएनटीभी अष्ट्रेलिया र यसको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्