प्रधानमन्त्री ओलीको व्यक्तिगत सहयोगमा अयोध्याधाम बनाउनका लागि भगवान राम र सीताको मूर्ति तयार

प्रधानमन्त्री ओलीको व्यक्तिगत सहयोगमा अयोध्याधाम बनाउनका लागि भगवान राम र सीताको मूर्ति तयार

विराटनगर ,माघ २६
प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि भगवान राम र सीताको मूर्ति तयार भएको छ । राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको छ।

प्रधानमन्त्रि ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ । दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ । नेकपा चितवनका सल्लाहकार श्याम विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी दिएका छन् ।

माडीका स्थानीय नेतासँगको भेटमा प्रधानमन्त्रीले आफैँ तयारी अवस्थामा रहेको राम र सीताको मूर्ति देखाउनुभएको थियो । प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताउनुभएको थियो ।

“अयोध्यापुरी अब विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान हुनेछ, पर्यटकीयस्थल हुनेछ । धेरै तीर्थालु भक्तजनको त्यहाँ गन्तव्यस्थल हुनेछ”, उहाँले भन्नुभएको थियो, “हामी रिउअर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन आदि गर्नेछौँ । मैले भनी राख्नुपर्लाजस्तो लाग्दैन यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो ।” उहाँले माडीमा अयोध्याधाम बनाउन स्थानीय क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले भने खासै चासो नदिएको बताउनुभएको थियो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी–९ को कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय नभएको बताएका छन् । उनले औपचारिक रूपमा अयोध्याधाम पनि घोषणा हुन बाँकी रहेको जानकारी दिएका छन् । उनले भने , “राम मन्दिरसँगै सुकुम्वासी, चेपाङको घर बनाउन पनि प्रस्ताव गरेका छौँ ।”

नेकपा भरतपुरका अध्यक्ष राम न्यौपानेले आफूहरुले काठमाडौँ जाँदा राम र सीताको मूर्तिबारे जानकारी लिएर आएको बताउदै उनले “राम मन्दिर कहाँ बनाएर मूर्ति कता प्रतिस्थापन गर्ने भन्ने बारेमा पुरातत्व विभागले थप अध्ययन गरिरहेको पनि जानकारी दिएका छन् । माडी नगरपालिकामा पनि यसबारेमा छलफल हुँदैछ । प्रधानमन्त्री माडीमा अयोध्याधाम बनाउन दृढ रूपमा प्रधानमन्त्री लागेको हामीले पाएका छौँ उनले भने।

नेकपाको ओली समूहका नेत्री पार्वती रावलले प्रधानमन्त्रीले केही दिनभित्रैमा हनुमान र लक्ष्मणको मूर्ति पनि तयार पार्ने र संस्कृति, पर्यटन मन्त्रालयसँग छलफल गरेर काम अघि बढाउने तयारी गरेको बताएकि छिन । “राम मन्दिर बन्न लागेको क्षेत्रका जनप्रतिनिधिसँगै म पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थिएँ । उहाँ अब द्रुत गतिमा काम अघि बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ”, रावलले भनिन , “चितवनको जनसभामा घोषणा गरे अनुरूप नै प्रधानमन्त्री लाग्नुभएको छ ।”

रावलका अनुसार उक्त मूर्ति प्रधानमन्त्रीले आफ्नै खर्चमा तयार पार्नुभएको हो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिसमेत रहेकि रावलले चितवनमा अयोध्याधाम बनाउन लागिएको विषय आफ्नो कार्यक्षेत्र अन्तर्गत पनि पर्ने भएकाले सरोकारवाला निकायसँग छिट्टै छलफलमा जुट्ने तयारी भएको बताएकि छिन।

माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको १०० बिघा जमिन मन्दिरका लागि उपलब्ध गराउने सिफारिस गरेको भए पनि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरङ्ग पैदा गरेको थियो ।

माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गत साउनमा माडीका प्रतिनिधिसँगको भेटमा विसं २०७८ को रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भन्नुभएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्रेतायुगका भगवान् श्रीरामको जन्मभूमि अयोध्याको विषयमा अनुसन्धान थाल्नुपर्ने बहस शुरु भएको थियो ।
-तस्बिर/ रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्