विराटनगरको शहिद रंगशाला रात्रीकालिन फुटबल प्रतियोगिताका लागि तयारी अवस्थामा

विराटनगरको शहिद रंगशाला रात्रीकालिन फुटबल प्रतियोगिताका लागि तयारी अवस्थामा

विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद रंगशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो । २१० दिनभित्र काम सक्ने सम्झौता भएपनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकीएको कार्की बन्धु अमर जेभीवीच प्रवन्ध निर्देशक गणेश कार्कीले बताए । कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्ष भित्रमा फ्लड लाइट जडानका लागि लिएको पहलका कारण काम सम्पन्न भएको उनले बताए । नेपालमै नयाँ परियोजना भएका कारण काम गर्न धेरै चुनौति भएपनि सम्पन्न गर्न सफल भएको उनले बताए । एकसाता भित्रमा काम सम्पन्न गरेर सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिने कार्कीले बताए ।

फ्लड लाईटको परीक्षणको अवलोकन गर्दै निर्वमान सामाजिक विकास मन्त्री घिमिरेले प्रदेशवासीका लागि गौरवको आयोजना तयार भएको बताए । उनले सवैको साथ सहयोगले रंगशालामा फ्लड लाईट स्थायी व्यवस्थापन भएको बताए । उनले संवन्धित निकायले फ्लड लाईटको दिगो व्यवस्थापनका लागि आवस्यक कार्यविधि मापदण्ड बनाउन आवस्यक रहेको बताए ।
अखिल नेपाल फुटवल संघ (एन्फा)का सहायक महासचिव वसन्त अर्यालले फ्लड लाईटको जडानका कारण रात्री कालिन प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए । उनले गर्मी मौसममा पनि प्रतियोगिता आयोजना गर्न सकिने बताए । अर्यालले भने,‘ चैत–वैशाखको समयमा पनि प्रतियोगिता गर्न सकिने भयो ।’ विराट गोल्डकपले मात्र रंगशालाको लागत धान्न नसक्ने भएकाले महिला लिग, मुख्यमन्त्री कप, प्रदेश स्तरिय प्रतियोगिताहरु, प्याव्सन, हिसानले आयोजना गर्ने प्रतियोगिता पनि रात्रीकालिन गरेर आम्दानी बढाउनुपर्ने बताए । दशरथ रंगशाला व्यवस्थापनको जिम्मेवारी एन्फाले लिए जस्तै यहाँपनि कार्यविधि बनाउन आवस्यक रहेको उनको सुझाव छ ।

शहिद रंगशालामा प्रतियोगिता बाहेकका अन्य गतिविधिमा रोक लगाउनुपर्ने जिल्ला खेलकुद विकास समिति मोरंगका पुर्वअध्यक्ष किशोरलाल अमात्यको सुझाव छ । मैदानलाई बर्षैभरि हरियो राख्नका लागि प्रशिक्षण पनि गर्न नहुने उनले बताए । प्रशिक्षणका लागि अन्यत्र नै व्यवस्थापन गर्नुपर्ने अमात्यले बताए । फ्लड लाईट व्यवस्थापन हेर्दै आएका सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विका चौलागाईले सरकारले जहिल्यै खर्च व्यवहोर्न नसक्ने भएकाले आवस्यक कार्यविधि र मापदण्ड बनाएर सञ्चालन गर्नुपर्ने बताए । कार्यविधि बनाएर सञ्चालन गर्न सकिए आवस्यक मर्मत सम्हारमा समस्या नहुने उनले बताए ।

शहिद मैदानको चार कुनामा जडान गरिएको १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्व जडान गरिएको छ । सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभीलाई ४ करोड २९ लाख रुपैयामा ठेक्का दिएको थियो । फ्लड लाईट सञ्चालनका लागि प्रतिघण्टा २७ लिटर डिजल खर्च हुने प्राविधिकले बताएका छन् । लाईट जडानको काम गरेको भारतको ट्रान्सरेल लाईट लिमिटेडका केएन सत्यालले लाईट जडान राम्रो भएको बताए । उनले रात्रीकालिन प्रतियोगिता आयोजनाका लागि लाईट ठिक रहेको बताए । उनले अहिले परीक्षणका क्रममा सामान्य सुधार गर्न आवस्यक देखिएको बताए । उनले भने,‘ सुधारको काम दुईदिन भित्रमा सक्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्