विराटनगरमा उद्योगीहरुको संस्थामा निर्वाचन लाग्यो, अध्यक्षमा सर्वसम्मति प्रयास

विराटनगरमा उद्योगीहरुको संस्थामा निर्वाचन लाग्यो, अध्यक्षमा सर्वसम्मति प्रयास

विराटनगर । उद्योग संगठन मोरङको ४८ औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुँदैछ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्ने साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सुनसरी–मोरङ औद्योगिक करिडोरका बहुसंख्यक उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङमा नयाँ नेतृत्व आउने भएकाले संगठनका साधारण सदस्यहरूले उत्सुकतापूर्वक साधारणसभाको प्रतीक्षा गरिरहेका छन् । साधारणसभामा सर्वसम्मत नेतृत्व चयनका लागि अहिलेसम्म कसरत भईरहेको छ । उद्योग संगठनमा अहिलेकै अध्यक्ष भिम घिमिरे, वरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेल, उद्योगी सुशिल धनावत र प्रदीप मुरारका समेतको अध्यक्षमा चर्चामा आएको नामहरु हुन् ।

संगठनका अध्यक्ष भीम घिमिरेले आफ्नो दावी नभएको बताउँदै सहमतिका साथ अगाडी बढ्ने योजनामा रहेको बताउनुभयो । टिमका साथीहरुले मेरो पनि आवश्यकता महशुस गर्नुभएको चाँहि छ, घिमिरेले भन्नुभयो–मेरो धारणा भने सहमतिसहित नयाँ साथीलाई नेतृत्व हस्तान्तरण गर्ने हो ।

हालसम्मको सहमति कायम रहेमा वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल आगामी कार्यसमितिको अध्यक्ष हुनुपर्ने निश्चित छ । तर, नेतृत्वमा आउन चाहना अरुले समेत राखेका कारण केहि घटबढको संभावना समेत रहेको बताइन्छ । वरिष्ठ उपाध्यक्षमा भने प्रदीप मुरारका र राकेश सुरानाले उम्मेदवारी दिने ईच्छा देखाएका छन् ।
उद्योग संगठनको विधानमा अध्यक्ष हुन दुई कालकाल कार्यसमिति सदस्य र दुई कार्यकाल पदाधिकारी हुनु पर्ने व्यवस्था छ । तर ४८ औं साधारणसभाबाट सो विधानमा संशोधन गरी अध्यक्ष बन्न चाहनेले एक कार्यकाल कार्यसमितिको सदस्यमा र अर्को एक कार्यकाल पदाधिकारी भएको जसले पनि अध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था गर्न लागिएको छ ।

सोही अनुसार विधान संशोधन भयो भने अर्को पटकदेखि अध्यक्ष बन्न दुई कार्यकाल पदाधिकारी हुनै पर्ने बाध्यात्मक व्यवस्था हट्ने छ ।
उद्योग संगठनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष, एक कोषाध्यक्ष र आठ जना सदस्यहरु साधारणसभाबाट निर्वाचित भएर आउने व्यवस्था छ । तीन जना सदस्यहरु भने अध्यक्षले मनोनित गर्न पाउनेछन् । हालसम्मको अवस्था हेर्दा वरिष्ठ उपाध्यक्षमा मुरार्का र सुरानाको दावी छ । त्यसैगरी उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी, सुवोध कोइराला र भोला दुलालको नाम चर्चामा छ ।

वर्तमान कार्यसमितिका सदस्य विपिन काबराले पनि उपाध्यक्ष बन्ने इच्छा राखेका छन् । तर, उनलाई कोषाध्यक्ष बनाइने सम्भावना छ ।
उद्योग संगठनको ४८औं साधारणसभा गत सालमै सम्पन्न भैसक्नु पर्ने थियो । कोभिडका कारण समय लम्याएर फागुन २८ गते ल्याइपुर्याएको हो । यो बीचमा नेपाल उद्योग वाणिज्य महासंघमा पनि नयाँ नेतृत्व आइसकेको छ उद्योग संगठन मोरङको भने बल्ल नेतृत्व फेरिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्