विराट गोल्डकप फुटबलको छैटौं संस्करणमा तीन विदेशीसहित दश टिम, खेल साँझ ७ बजेदेखि

विराट गोल्डकप फुटबलको छैटौं संस्करणमा तीन विदेशीसहित दश टिम, खेल साँझ ७ बजेदेखि

विराटनगर । छैटौं संस्करणको विराटगोल्ड कप आगामी २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म विराटनगरमा आयोजना गरिने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा दश टिमलाई सहभागी गराउँदै रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो ।

गोल्डकप आयोजक समितिका संयोजक मनोज बिक्रम शाहका अनुसार नेपाल, भारत र क्यामरुनका दश टिमलाई सहभागी हुनेछन् । आयोजक विराट गोल्डकप फुटबल टुर्नामेन्ट–२०७७ समितिले प्रतियोगितामा सहभागी १४ टिमलाई सूचीमा राखेको संयोजक शाहले जानकारी दिनुभयो ।

प्रतियोगितामा भारतको पंजाब पुलिस पंजाव, झारखण्ड टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशनलाई पहिलो पटक फुटबल खेल खेल्नका लागि भित्र्याइने भएको छ । नेपालको मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लव, संकटा क्लव, राष्ट्रिय लिन विजेता टिम मच्छिन्द्र क्लव, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ सहभागी हुने संयोजक साहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । स्थानीय टिम विराटनगर–११ लाई विराटनगर महानगरपालिकाले प्रायोजन गर्ने भएको छ ।

एक करोड २५ लाख रुपिँया लागत अनुमान गरिएको प्रतियोगिताको तयारी ७५ प्रतिशत सकिएको आयोजक समितिले दावी गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा रमपम चाउचाउ र मारुती सिमेन्ट रहेका छन् । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका मुख्य प्रवद्र्धक रहेका छन् । उपाधी विजेतालाई १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार नगद पुरस्कारसहित कप तथा शिल्ड पाउने छ ।

संयोजक शाहका अनुसार म्यान अफ द म्याचलाई १५ हजार नगदै र सर्वोकृष्ट प्रशिक्षक, गोलकिपर, मिल्ड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डलाई जनही २५–२५ हजार राशीको पुरस्कार प्रदान गरिने संयोजक शाहले जानकारी दिनुभयो । त्यस बाहेक प्रतियोगितामा सहभागी सबै टिमले नगद प्रोत्साहन रकम समेत प्राप्त गर्नेछन् ।
विराटनगरमा २०१८ सालदेखि उद्योगी–व्यवसायी र समाजका खेलप्रेमीको सहभागितामा ‘श्री ५ महेन्द्र गोल्डकप’ सुरु भएको थियो । राजनीतिक परिवर्तनले देशमा राज्यव्यवस्था फेरिएसँगै महेन्द्र गोल्डकपले २०६७ सालमा विराट गोल्डकपको स्वरूप पाएको थियो । स्वरुप फेरिएको विराट गोल्डकपको पहिलो संस्करण २०६९ सालमा भएको थियो । २०७० मा दोस्रो, २०७१ मा तेस्रा, २०७२ मा चौंथो संस्करण भएको थियो । २०७३ मा हुने पाँचौं संस्करण नभएपछि २०७४ मा पाँचौं संस्करण भएको थियो । त्यसपछि २०७५ र २०७६ मा विराट गोल्डकप प्रतियोगिता आयोजना भएको थिएन । मैदान स्तरोन्नती र कोरोनाका कारण रोकिएको गोल्डकप आवश्यक पूर्वाधार सम्पन्नसँगै यो वर्ष हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्