जनगणनाका लागि प्रदेश १ मा ६० कार्यालय स्थापना गरिने

जनगणनाका लागि प्रदेश १ मा ६० कार्यालय स्थापना गरिने

विराटनगर । राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । प्रदेश १ का १४ जिल्लामा गणक प्रशिक्षण गर्नका लागि आवश्यक प्रशिक्षक तालिम सुरु गरिएको हो । विराटनगरमा साविक मेची अञ्चल बाहेका १० जिल्लाको तालिम सोमबार सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले प्रादेशिक तथ्यांक कार्यालयलाई नै चार महिनाको लागि प्रादेशिक जनगणना कार्यालयमा रुपान्तरण गरिसँगै आवश्यक जनशक्ति तयार पार्ने कार्य सुरु भएको छ । विराटनगरमा दश जिल्लाका १७२ जना र भद्रपुरमा चार जिल्लाका मुख्य प्रशिक्षकलाई तालिमको आयोजना गरिएको हो ।

प्रदेश तथ्यांक कार्यालयका निर्देशक तथा राष्ट्रिय जनगणना २०७८ का प्रदेश निर्देशक तिर्थराज बरालका अनुसार १३७ स्थानीय तहलाई समेट्ने गरि ६० वटा स्थानीय कार्यालयहरु स्थापना गरिने छ । प्रदेशस्तरीय मुख्य प्रशिक्षक तालिम चैत ९ गतेदेखि सुरु भएको १५ गते सम्पन्न भएसँगै स्थानीय जनगणना अधिकारी तालिम आगामी चैत १९ गतेदेखि २५ गतेसम्म तय भएको उहाँले जानकारी दिनुभयो । यी दुई तालिम सम्पन्न गरिएसँगै सुपरिवेक्षक तालिम २०७८ बैशाख १६ गतेदेखि २२ गतेसम्म र स्थानीय तहमा गणक तालिम जेठ १७ गतेदेखि २२ गतेसम्म आयोजना गरिने भएको छ ।
प्रदेश १ का प्रमुख सचिव सुमनराज अर्यालले सोमबार तालिमको उद्घाटन गर्दै जनगणनाको महत्वलाई गम्भीरतापूर्वक बुझ्नका लागि आग्रह गर्नु भएको थियो । उहाँले प्रशिक्षक तालिममा सहभागीहरुलाई उद्देश्य र लक्ष्यलाई सहयोग पुग्ने गरि जनगणनाको कार्य सम्पन्न गर्न सहयोगी बन्न निर्देशन समेत दिनुभएको थियो ।

उहाँले जनसंख्याको यकिन तथ्यांक निर्वाचन क्षेत्र निर्धारण, वित्तिय बाँडफाँड, विकासमा प्राथमिकीकरण र मानव विकास सूचाङक तयार पार्ने प्रमुख आधार जनगणना नै भएकोले सबैको सक्रियता आवश्यक हुने बताउनुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले वास्तविकतामा आधारित रहेर जनगणना गरिएमात्रै देशको समग्र अवस्थाबारे जानकारी हुने बताउनुभयो । उहाँले मोरङमा जनगणनाका लागि आवश्यक कार्यालयहरु स्थापना र स्थानीय तहमा गणकहरु तयार पार्ने कामलाई तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक गणेशराज आचार्यले तालिम प्राप्त प्रशिक्षकले गणकलाई दिने तालिमको अनुगमन सम्बन्धित जिल्ला प्रशासन कार्यालय प्रमुख गर्ने प्रावधान रहेको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारी नै प्रमुख जनगणना सुपरिवेक्षकको रुपमा खटिने प्रावधान रहेको आचार्यले जानकारी दिनुभयो । राष्ट्रव्यापी रुपमा आयोजना हुन लागेको जनगणनालाई सफलतापूर्वक सम्पन्न गरेर देशको समग्र विकासको आधार तयार पार्ने लक्ष्य सरकारले लिइएको आचार्यले बताउनुभयो ।

जनगणनाको लागि देशभरका प्रत्यके घरमा पुगेर घर तथा घरपरिवारको सूचीकरण फारम भराउनु पर्नेछ । पहिलो चरणमा यो फारम सुपरिवेक्षकमार्फत घरघरमा पु¥याईने छ । त्यसपछि गणकहरु घरघरमा पुगेर परिवार संख्या, कृषि सम्बन्धी विवरण, परिवारबाट सरकारी अनुदानमा आवासीय घर निर्माणसहितको तथ्यांक संकलन गर्नेछन् । राष्ट्रिय जनगणना २०७८ का लागि घर तथा घरपरिवार सूचिकरण बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म, मुख्य प्रश्नावली फाराम जेठ २५ गतेदेखि असार ८ गतेसम्म भरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्