विराटनगरको मुख्य रानी नाका सुनसान : इस्लामपुर, मटेर्वा र दरैयामा थेगिनसक्नु भीडभाड

विराटनगरको मुख्य रानी नाका सुनसान : इस्लामपुर, मटेर्वा र दरैयामा थेगिनसक्नु भीडभाड

विराटनगर । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलेको हल्लासँगै नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाकामा कडाई गरिएपनि सहायक नाकाको मानव लर्को भने रोक्न नसकिने छ । दैनिक किनमेलका लागि सीमापारी बजार जोगबनी पुग्ने मात्रै नभई लामो अवधीका लागि भारत पुगेर फर्कनेले समेत सहायक नाका नै प्रयोग गर्ने गरेका हुन् । रानी क्षेत्रको हुलास मेटल गेटदेखि पश्चिम, टिकुलिया बस्ती तथा इस्लामपुर र मटेर्वा नाकामा दैनिक मेला लागेजस्तै भीड हुने गरेको छ । आउजाउलाई सीमा सुरक्षामा बसेका न्यून संख्याका सुरक्षाकर्मीले रोक्न नसक्ने भएपछि त्यसै छोडिदिने गरेका हुन् ।

विराटनगर रानीको मुख्य नाका जोगबनीमा ढाट लगाइएको छ । त्यहाँबाट प्रवेश गर्नेहरुमा आशंका लागेको अवस्थामा एन्टिजेन परीक्षण गरिन्छ । तर, त्यहाँबाट दैनिक प्रवेश गर्नेको संख्या १० जनाको हाराहारी मात्रै छ । पछिल्लो तीनदिन यता जोगबनीको मुख्य नाकामा एन्टिजेन परीक्षण सुरु गरिएको छ । आउजाउ गर्नेहरु भने मुख्य नाकाको एकसय मिटर नजिकबाट सजिलै नेपाल–भारत आउजाउ गरिरहेका हुन्छन् ।
नेपाल–भारत आवात–जावत गर्ने जोगबनीको मूल नाका गतवर्षको चैत ११ गतेदेखि हालसम्म बन्द नै छ । गत मंसिर ३० गतेदेखि अन्तराष्ट्रिय नाका खोल्ने सरकारले निर्णय गरेपनि जोगबनी नाका नखोलिएको हो । यो नाकाबाट मालवस्तु आयात–निर्यातसँगै नागरिकले आवागमनमा समेत प्रयोग गर्दै आएका थिए । तर, वस्तु आयात–निर्यात विराटनगर–१८ स्थित आईसीपी क्षेत्रमा सरेपछि रानीको मुख्य नाका आवागमनका लागि मात्रै खोलिएको छैन ।
नाका नखोलेपनि आउजाउ गर्नेको भीडमा भने कमि छैन । मुख्य नाकाबाट आवागमन रोकिँदा सहायक नाकाबाट प्रवेश गर्नेहरु बिना रोकावट आईरहेका छन् । जसले गर्दा जोखिम अझै बढ्ने संभावना देखिएको छ ।

मुख्य नाकाबाट प्रवेश गर्नेहरु सहायक नाकाको बाटो नजानेकाहरु मात्रै छन् । उनीहरु भारतमा औषधी उपचार, अध्ययन वा लामो समय काम गरेर फर्केकाहरु हुन् ।
साविक रानी भन्सारदेखि नजिकै हुलास मेटल अगाडीको दरैया जाने सडकका प्रहरीले बाँसको ढाट लगाएको छ । तर, ढाट उचालेर तथा नजिकै किनारातर्फको खाली जमिनबाट आउजाउ गर्नेहरुलाई प्रहरीले रोक्नै सक्दैन । मुख्य नाकामा पुग्नेहरुलाई डिउटीमा रहेका प्रहरीले नै सहायक नाकाको बाटो बताइदिन्छन् । सहायक नाकामा डिउटीमा रहेका प्रहरीले आवागमन गर्नेहरुलाई केहि तर्काएर आउजाउ गराईरहन्छ ।

सीमाका सहायक नाकाहरुमा सहजै आउजाउ भईरहेको भएपनि मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले नियन्त्रण र नियमन गरिने बताउनुभयो । उहाँले होलिको कार्यक्रममा सार्वजानिक जमघटलाई रोक्ने र सीमा क्षेत्रको आवात–जावत रोक्ने गृहमन्त्रालयको निर्देशन अनुसार प्रहरीले कदम चाल्ने बताउनुभयो । मुख्य नाकाबाट आवात–जावतमा सहजीकरण गर्ने र सहायक नाकाबाट स्वास्थ्य सुरक्षा मापदण्ड भित्र रहेर आउजाउ गर्न सहजीकरण गरिने छ, प्रवक्ता राईले भन्नुभयो–आजैबाट कडाई गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्